Rumpum Advertisement
Dazzu

निःशुल्क खाना अभियानलाई व्यवस्थित गर्न महानगरको अनुरोध

निःशुल्क खाना अभियानलाई व्यवस्थित गर्न महानगरको अनुरोध

काठमाडौ, १९ कात्तिक । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ ।

कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमको समेत ख्याल गरी खाना खुवाउन आग्रह गरे ।

श्रम गर्न सक्नेहरुले श्रम गरेर र नसक्नेहरुको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उनले बताए । महानगरपालिकाले सुरुदेखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताए । सक्नेहरुले समेत काम नगरी खाने प्रवृत्ति रहेमा भोलि पनि समस्या हुने उनले बताए ।

उनले भने, ‘काम नगरी खाने प्रवृत्ति भयो भने भोलि श्रम गरेर खान भन्दा पनि उनीहरुले गर्दैनन् । बानी बिग्रिन्छ । त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो । नसक्नेलाई व्यवस्थापन गर्छौँ ।’

एकै ठाउँमा भिडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ, त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बताए । महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने उनले बताए ।

लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडाहरुमार्फत् ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ ।

लकडाउन अवधिमा एक लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र दुई लाख ५० हजारभन्दा बढीलाई खाना खुवाउने काम गरेको उनले बताए । श्रम गर्न सक्नेहरुलाई वडा कार्यालयहरुबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकाल तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण जस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ ।

एक हप्तामा कम्तिमा दुई दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पनि सिर्जना गर्ने काम गरेको उनले बताए ।