Rumpum Advertisement
Dazzu

प्रधानमन्त्री ओलीले भने, ‘म राजीनामा दिनेवाला छैन’

प्रधानमन्त्री ओलीले भने, ‘म राजीनामा दिनेवाला छैन’

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । पार्टीभित्र राजीनामा माग भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा राजीनामा नदिने बताएका हुन् ।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताए ।

प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारे । ‘तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ?’ उनले भने, ‘मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन, त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए ।

कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न उनले आग्रह गरे । ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो,’ उनले भने, ‘यहाँ पुर्याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुस । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र-बाहिर अनेक थरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको बताए । उनले भने, ‘एकथरी अस्थिरताको खेति गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन् कोही ।’