Rumpum Advertisement

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौँमा

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौँमा

काठमाडौं, १९ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज काठमाडौ आइपुगेका छन् ।

वलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी यहाँ आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जंगी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्राँै बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । उनको सम्मानमा बिहीबार नै जंगी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्नेछन् ।