Rumpum Advertisement
Dazzu

विराटनगरमा होम आइसोलेसनमा बसेको प्रमाणित गर्न ५१० रुपैयाँ शुल्क

विराटनगरमा होम आइसोलेसनमा बसेको प्रमाणित गर्न ५१० रुपैयाँ शुल्क

विराटनगर, १९ कात्तिक । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क लिन थालेको छ । संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरपालिकाले ५१० रुपैयाँ शुल्क लिन थालेको हो ।

महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण पुष्टि भएको सिफारिस गर्दा शुल्क लिने गरेको थिएन । तर पछिल्लो समय भने ५१० रुपैयाँ शुल्क लिन थालेको हो । महानगरपालिकाले सिफारिस शुल्क लिनका लागि सबै वडा कार्यालयलाई परिपत्र गरेको छ । सिफारिस गरे पनि केही वडाले भने शुल्क उठाएका छैनन् ।

यसरी सिफरिस बनाउन जानेहरु अधिकांश बिमा दाबी गर्नेहरु छन् । बिमा प्रयोजनाका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताए । ‘बिमा दाबी प्रयोजनका लागि सिफारिश शुल्क लिन थालिएको हो,’ उनले भने, ‘सबै वडालाई सिफारिस शुल्क लिन भनिएको छ ।’

महानगरपालिकाले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ शुल्क संकलन गरेको हो ।