Rumpum Advertisement
Dazzu

नोबेलमा दुईजना संक्रमितको मृत्यु

नोबेलमा दुईजना संक्रमितको मृत्यु

विराटनगर, १९ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण नोबेल मेडिकल कलेजमा दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान दुईजनाको मृत्यु भएको हो ।

इलामकी वृद्ध महिला र झापाका वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दमको पुरानै समस्या रहेकी इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या रहेको भन्दै वृद्धालाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको उनले बताए । त्यस्तै झापाको दमक–३ का ६४ वर्षीय संक्रमित वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ ।

मृतक बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । दाहालका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएको भन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्नुअघि नै वृद्धलाई कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।