Rumpum Advertisement
Dazzu

डेंगुको ज्वरो पहिचान भएमा खानुपर्ने चिजहरू

डेंगुको ज्वरो पहिचान भएमा खानुपर्ने चिजहरू

विराटनगर, १९ कात्तिक । परिवारमा कसैलाई डेंगुको ज्वरो पहिचान भएमा पूर्णरूपमा निको पार्नका लागि निकै नै ध्यान दिनु पर्ने हुन्छ ।

औषधिबाहेक दैनिक खाइने आहारले डेंगु भएमा स्वास्थ्यलाभ पाउन प्रमुख भूमिका खेल्छ । सही प्रकारको खाना खाएर डेंगुबाट छिटो निको हुन सकिन्छ । मेवाको पातको रसलाई डेंगु ज्वरोको सबैभन्दा प्रभावकारी उपचार मानिन्छ । मेवाको पातको रसले प्लेटलेटलाई बढाएर प्रतिरोध क्षमतालाई सुधार गर्न मद्दत गर्छ ।

ताजा मेवाका पातमा अलिकति पानी लिएर मिश्रण गरी बनाएको रसलाई दिनमा दुई पटक पिउँदा छिट्टै परिणाम पाइन्छ । त्यस्तै, ताजा तरकारीको रस पनि आवश्यक पोषक तत्वले समृद्ध हुन्छ । आफूलाई मन पर्ने तरकारीको मिश्रण गरी सजिलै जुसलाई तयार गर्न सकिन्छ । पौष्टिक तत्वले भरिएको हर्बल चिया स्वास्थ्यका लागि लाभदायक हुन्छ । हर्बल चियाको सेवनले दिमागलाई पनि स्फूर्ति प्रदान गर्न सक्छ ।

औषधीय गुणले भरिएका नीमका पात डेंगुको ज्वरोका लागि अत्यधिक लाभदायक हुन्छन् । नीमको रसले भाइरसको वृद्धि र प्रसारलाई नियन्त्रण गर्न मद्दत गर्छ । बेसार एन्टिसेप्टिक र मेटाबोलिजमलाई बढावा दिने तत्व हो । डेंगुको ज्वरोका लागि बेसार राखेको दूध पिउन सिफारिस गरिन्छ । यसले डेंगुको ज्वरोबाट छिटो निको हुन मद्दत गर्छ । दुध मन नपरेको खण्डमा बेसारपानीको पनि सेवन गर्न सकिन्छ ।

भिटामिन ए र सीले भरिएको अमलाले रोग प्रतिरोध क्षमता बढाउनुका साथै प्लेटलेट निर्माण गर्छ । एन्टी–अक्सिडन्ट्सको उच्च मात्रा भएका कारण अमलाले तनावको प्रभाव कम गरी रक्त कोशिकाको कमीसँग सम्बन्धित रोगबाट हुने जोखिमलाई कम गर्छ । कुखुराको सूपले चिसो र फ्लूको लक्षणलाई रोक्नुका साथै डेंगुको ज्वरोमा पनि प्रभावकारी हुन सक्छ ।

यसले शरीरलाई हाइड्रेटेड राखी वायुमार्गको तापक्रम बढाउन मद्दत गर्छ, जसकारण खकार र सिँगान ढिलो निर्माण हुन्छ । तर, तेलमा फ्राई गरिएका, क्याफिन, कार्बोनेटेड पेय पदार्थ, मसालेदार खाना र उच्च फ्याटयुक्त खाद्य पदार्थ डेंगुको ज्वरोका लागि सबैभन्दा हानिकारक हुने हुँदा यस्ता खानाको सेवन गर्नु हुँदैन ।