Rumpum Advertisement
Dazzu

विराटनगरमा आज बिहान वर्षकै धेरै चिसो

विराटनगरमा आज बिहान वर्षकै धेरै चिसो

विराटनगर, १९ कात्तिक । विराटनगरमा आज (बुधबार) बिहान यस वर्षकै धेरै चिसो महसुस गरिएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार बिहान विराटनगरको न्यूनतम तापक्रम १८.५ डिग्री मापन गरिएको छ । कार्यालयका प्रमुख विकाश देउजाले तापक्रम कम नभए पनि पश्चिमी वायुको प्रभावले चिसो महसुस भएको जानकारी दिए ।

उनका अनुसार बिहानैदेखि मौसम धुम्म भएर पश्चिमी हावा चलेका कारण वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको हो । ‘जाडो मौसम सुरु भए पनि तापक्रममा खासै उतारचढाव छैन,’ देउजाले भने, ‘तर बिहान वर्षकै अत्यधिक चिसो हुन पुग्यो ।’ विराटनगरमा बिहान १० बजेबाट मात्रै घाम देख्न पाइएको थियो ।

उनका अनुसार अब दिन प्रतिदिन चिसो बढ्दै जानेछ । वायुको प्रभाव कायम रहेमा झन् मौसमलाई त्यसले असर पार्ने प्रमुख देउजाले बताए ।