Rumpum Advertisement
Dazzu

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोनाका कारण मृत्यु

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोनाका कारण मृत्यु

विराटनगर, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

उनको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । सीता १० वर्षदेखि माइस्थेनीयाबाट पीडित थिइन् । पछिल्लो समय कोरोना संक्रमण पनि पुष्टि भएपछि उनको अवस्था गम्भीर बनेको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै बचाउने प्रयास गरिए पनि सम्भव नभएको चिकित्सकले बताएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। २०१८ साउन १३ गते रोल्पामा जन्मेकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। महरा दम्पत्तिका दुई छोरा र दुई छोरी छन्।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक सीतालाई यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो। २०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर प्रहरीले गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्।

घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी महिला हुन् । दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला उनलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो ।

उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा पुरानो समस्यासँगै कोरोना संक्रमण, निमोनिया र श्वासप्रश्वासको पनि समस्या थपिएपनि १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख कृष्णबहादुर महरालाई परेको पत्नी शोक र उनकी पत्नीको निधनप्रति दुःख व्यक्त गरेका छन्। एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।