Rumpum Advertisement
Dazzu

एक बालिकासहित सुनसरीका दुई संक्रमितको बीपीमा मृत्यु

एक बालिकासहित सुनसरीका दुई संक्रमितको बीपीमा मृत्यु

विराटनगर, १९ कात्तिक । एक बालिकासहित सुनसरीका दुई जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा महिला छन् । इटहरी उपमहानगरपालिका–६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो । मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै ज्यान गएको हो ।

त्यस्तै धरान उपमहानगरपालिका –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

उनलाई उपचारका लागि कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहान ३ः१५ बजेतिर मृत्यु भएको डा. श्रेष्ठले बताए ।