Rumpum Advertisement
Dazzu

अमेरिकामा राष्ट्रपति पदका लागि मतदान जारी

अमेरिकामा राष्ट्रपति पदका लागि मतदान जारी

विराटनगर, १९ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान जारी रहेको छ ।

केही राज्यमा मतदान सकिएको छ भने केहीमा अझै पनि मतदान गर्ने क्रम जारी छ । यस पटकको राष्ट्रपति निर्वाचनमा १० करोड बढीले अग्रिम मतदान गरेका थिए । यस निर्वाचनलाई दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय निर्वाचनका रुपमा हेरिएको छ । विभाजित निर्वाचनमा अमेरिकी जनताले मतदान गरिरहेका छन् ।

मतदान सकिएका पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकाल नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् । त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए ।

अहिलेसम्म जर्जा, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मान्ट र भर्जिनियामा मतदान सकिएको छ । यी राज्यमा क्रमशः १६, ११, ८, ९, ३ र १३ इलेक्ट्रोल कलेज भोट रहेका छन् । सबै राज्यमा मतदान टुंगिएर नतिजा आउन भने समय लाग्ने बताइएको छ ।