Rumpum Advertisement

जोटाको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

जोटाको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

विराटनगर, १९ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब अटलान्टालाई हराएको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा लिभरपुलले अटलान्टालाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो ।

अटलान्टाको मैदानमा भएको खेलमा लिभरपुललाई जिताउनका लागि डिएगो जोटाले ह्याट्रिक गरे भने मोहम्मद सालाह र साडियो मानेले समान एक–एक गोल गरे ।

खेलको १६औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा उनले दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

त्यसपछि लिभरपुलले ९ मिनेटभित्र तीन गोल गरेको थियो । ४७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर बनाए भने ४९औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले ४–० गोलको अग्रता बनायो ।

खेलको ५४औं मिनेटमा जोटाले गोल गर्दै ह्याट्रिक पूरा गरे र लिभरपुललाई ५–० गोलको फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘डी’को शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । अटलान्टा ४ अंकसहित तेस्रो स्थानमा छ ।

सोही समूहको आयाक्सले मिड्जिल्याण्डमाथि २–१ गोलको जित निकालेको छ ।