Rumpum Advertisement
Dazzu

गोर्खा ब्रुअरीको बियरमा बढाइयो अन्तःशुल्क

गोर्खा ब्रुअरीको बियरमा बढाइयो अन्तःशुल्क

विराटनगर, १९ कात्तिक । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य बढाइदिएको छ ।

अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन (काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेर अन्तःशुल्कको मूल्य बढाइएको विभागले जनाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ । यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले प्रशोधित जौको मात्रा बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन गोर्खा ब्रुअरीलाई दिएको छ । गोर्खा ब्रुअरीको बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ रुपैयाँ छ । तर, कनिका बढी हालेका कारण विभागले हाल यस बियरको मान्यता नदिई अन्यसरहको अन्तःशुल्क बुझाउन सो कम्पनीलाई निर्देशन दिएको हो । अन्यसरह अन्तःशुल्कमा दररेट प्रतिलिटर ४३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ