Rumpum Advertisement
Dazzu

इन्टरमाथि रियलको साँघुरो जित

इन्टरमाथि रियलको साँघुरो जित

विराटनगर, १९ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले इन्टरमाथि ३–२ गोलको साँघुरो जित निकालेको हो ।

रियलको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि करिम बेन्जेमा, सर्जियो रामोस र रोड्रिगोले समान एक–एक गोल गरे । इन्टरका लाउटारो मार्टिनेज र इभान पेरिसिकले समान एक–एक गोल गरे ।

खेलको २५औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा टोनी क्रुसको पासमा कप्तान रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

खेलको ३५औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे । उनले निकोलो बरेल्लाको असिस्टमा गोल गरेपछि पहिलो हाफभरि खेल २–१ गोलको अवस्थामा आयो ।

६८औं मिनेटमा पेरिसिकले मार्टिनेजको पासमा गोल गर्दै इन्टरलाई बराबरीमा फर्काए । ८०औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘बी’को रियलले ४ अंक जोडेको छ । रियल सो समूहको तेस्रो स्थानमा उक्लिएको छ । इन्टर भने २ अंकका साथमा चौथो स्थानमा छ ।

यसअघि रियल पहिलो खेलमा शख्तर डोनेस्कसँग हारेको थियो भने बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरी खेलेको थियो ।

इन्टरले भने अघिल्ला दुवै खेलमा बराबरी खेलेको थियो ।

सोही समूहका शख्तरमाथि मोन्चेनग्लाडबाचले ६–० गोलको फराकिलो जित निकालेको छ ।