Rumpum Advertisement

अमेरिकामा फेरि बढ्यो संक्रमण

अमेरिकामा फेरि बढ्यो संक्रमण

विराटनगर, १९ कात्तिक । अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । केही हदसम्म नियन्त्रणमा आएको संक्रमण पछिल्लो समय बढ्न थालेको हो ।

दैनिक बढ्दो अवस्थामा रहेको संक्रमितको संख्याले संक्रमण दिनप्रतिदिन बढिरहेको पुष्टि गर्छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो । आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा र उदासिनता देखाउँदा दैनिक संक्रमण बढ्दो क्रममा रहेको हो ।

त्यहाँ केही दिन अघिसम्म संक्रमण कम हुँदै गएको थियो । तर पछिल्लो समय एक्कासि संक्रमण बढ्दो अवस्थामा रहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ८९ हजार सात सय ७७ नयाँ संक्रमित भेटिए । यो दुई महिना यता दैनिक पुष्टि हुने संक्रमितको संख्याभन्दा उच्च हो ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या ९६ लाख ८६ हजार आठ सय ८८ पुगेको छ । कोरोनाका कारण दुई लाख ३८ हजार पाँच सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार एक सय ३४ जना संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये ६२ लाख ३१ हजार सात सय ३४ जना उपचारपछि घर फर्किएका छन् । ३२ लाख १६ हजार पाँच सय ८० जना उपचाररत रहेकोमा १७ हजार छ सय ४५ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार नौ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जना नयाँ संक्रमित थपिए । भारतमा तीव्र रुपमा फैलिएको संक्रमण पछिल्लो समय केही हदसम्म नियन्त्रणमा आइरहेको छ ।

कोरोनाका कारण एक लाख २३ जार छ सय ५० जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच सय ११ जना संक्रमितको ज्यान गयो । संक्रमितमध्ये ७६ लाख ५४ हजार सात सय ५७ जनाको उपचार सफल भएको छ । पाँच लाख ३४ हजार पाँच सय ४० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५५ लाख ६७ हजार एक सय २६ पुगेको छ । एक लाख ६० हजार पाँच सय ४८ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ५० लाख २८ हजार दुई सय १६ जनाको उपचार सम्भव भएको छ । तीन लाख ७८ हजार तीन सय ६२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७८ लाख २२ हजार दुई सय १८ पुगेको छ । वाल्डो मिटरका अनुसार एकै दिन चार लाख ६८ हजार छ सय १३ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण विश्वमा १२ लाख १९ हजार चार सय ५७ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा सात हजार नौ सय ४१ जनाको मृत्यु भयो ।

संक्रमितमध्ये तीन करोड ४३ लाख २४ हजार नौ सय चार जनाको उपचार सम्भव भएको छ । एक करोड २२ लाख ७७ हजार आठ सय ५७ जना उपचाररत रहेकोमा ८७ हजार नौ सय ४२ जनाको अवस्था गम्भीर छ ।