Rumpum Advertisement

नहर मर्मत गर्न स्थानीयको माग

नहर मर्मत गर्न स्थानीयको माग

इनरुवा, १८ कात्तिक । सुनसरीको कोशी गाउँपालिका–४ र ५ श्रीपुर क्षेत्रमा खेत सिचाइँ गर्नका लागि हरिपुर शाखा नहरको मर्मत गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–४ र ५ श्रीपुर क्षेत्रमा खेत सिचाइँ गर्नका लागि हरिपुर शाखा नहरको मर्मत गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

नहर २०६५ को बाढीले क्षतिग्रस्त भएको र हालसम्म मर्मतसम्हार नहुँदा झण्डै तीन हजार हेक्टर क्षेत्रफल जग्गा सिचाइँविहीन भएको भन्दै शाखा नहर र माइनर नहर मर्मत सम्भार गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

नहर मर्मत नहुँदा जग्गा भएरपनि उत्पादन गर्न नपाएको कोशी–४ का स्थानीय विद्यानन्द यादवले जानकारी दिए । यादवका अनुसार नहर भएर पनि मर्मतसम्भार नहुँँदा राजमार्ग दक्षिण पानी नआएका कारण हजारौं बिघा जग्गा सिचाइँ अभावमा बाँझो रहेको छ ।

गाउँपालिका सिचाइँ आयोजना र नेपाल सरकारसमेतमा पटक–पटक आग्रह र पहल गर्दासमेत कुनै सुनवाइ नभएको श्रीपुरका किसान मो.मुख्तार मन्सुरीले गुनासो गरे ।

हरिपुर शाखामा मधुवनदेखि पश्चिमकुशाहासम्म मुस्किलले पानी पुगे पनि पश्चिम कुशाहा दक्षिण–पश्चिम र कोशी गाउँपालिका ३, ४, ५, ६ श्रीपुर र कोशी–७, ८ हरिपुर क्षेत्र सिचाइँविहीन बनेको अर्का स्थानीय जोगिन्द्र खंगले गुनासो गरे ।

सिचाइँ समस्या समाधान र नहर मर्मत सम्भारका लागि सम्बन्धित निकायमा वर्षौसम्म पहल गर्दासमेत कुनै सुनवाइ नभएको कोशी गाउँपालिका–४ का वडाध्यक्ष अमिन मियाँले प्रतिक्रिया दिए ।

मियाँका अनुसार सिचाइँका लागि कैयौं सिफारिस भयो तर काम भएको छैन । सिचाइँ सुविधा नहुँदा धान, गहुँ, मकैं, जुट तथा दलहन र तेलहन बालीसमेत प्रभावित भएको छ ।

सो क्षेत्रमा कोशी कटान अघिसम्म तरकारी बालीदेखि खाद्यन्न बालीसम्म र दलहनदेखि नगदेबालीसम्म राम्रो उत्पादन हुँदै आए पनि अहिले सिचाइँ समस्याका कारण उत्पादनमा ह्रास आएको वडा सदस्य अमना खातुनले गुनासो गरिन् ।

सिचाइँ समस्या समाधान गर्नका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने मानव अधिकार समूहका कोशी उपाध्यक्ष श्यामकुमार खंगले माग गरे ।