Rumpum Advertisement
Dazzu

विराट र नोबेलमा थप दुई संक्रमित माहिलाको मृत्यु

विराट र नोबेलमा थप दुई संक्रमित माहिलाको मृत्यु

विराटनगर, १८ कात्तिक । कोरोना संक्रमित दुई महिलाको विराट शिक्षण र नोबेल शिक्षण अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका र सुनसरीको इनरुवा घर भएका महिलाको उपचारका क्रममा ज्यान गएको हो । नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बिहान अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

मृत्युपछि महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

‘अस्पतालमा भर्ना गर्नेबित्तिकै उपचार थालेर स्वाब संकलन गर्दै परीक्षणका लागि लगिएको थियो,’ दाहालले भने, ‘मृत्यु भएको पौने घण्टापछि दिउँसो ४ः४५ बजेतिर रिपोर्ट पोजेटिभ आइदियो ।’

उनका अनुसार कोरोना पुष्टि हुनुअघि नै बिरामीको मृत्यु भएका कारण थप उपचारका लागि कोभिड अस्पतालको आइसोलेशनमा भर्ना गर्न पाइएन ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले उपचारका क्रममा दिउँसो २ः३० बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक १४ गते महिलालाई उपचारका लागि भर्ना गरिएको उनले बताए । देवका अनुसार कोरोना संक्रमणसँगै महिलामा श्वासप्रश्वासको पनि समस्या थियो ।