Rumpum Advertisement
Dazzu

अस्पताल लैजादै गर्दा मोरङ कारागारमा रहेका बन्दीको मृत्यु

अस्पताल लैजादै गर्दा मोरङ कारागारमा रहेका बन्दीको मृत्यु

विराटनगर, १८ कात्तिक । मोरङ कारागारका एक बन्दीको मृत्यु भएको छ । उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा मंगलबार दिउँसो बाटैमा मृत्यु भएको हो ।

कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भएका २५ वर्षीय सुमन दनुवारको मंगलबार मृत्यु भएको हो ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले उपचारका लागि अस्पताल पु¥याउन नपाउँदै दिउँसो ४ बजेतिर उनको बीचबाटैमा मृत्यु भएको बताए । अचानक श्वास फेर्न गाह्रो भएका कारण दनुवारलाई अस्पताल लगिएको उनको भनाइ छ ।

पोखरेलले पशुपंक्षी सम्बन्धी मुद्धामा जिल्ला अदालत मोरङको आदेशबाट दनुवार गत भदौ १ गतेबाट पूर्पक्षका लागि थुनामा रहेको बताए ।

मृतक बन्दीमा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । रिपोर्ट भने आउन बाँकी छ ।

‘कोरोनासँग मिल्ने लक्षण देखिएका कारण मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ,’ उनले भने, ‘तर रिपोर्ट भने आइनसकेकाले यकिन गर्न सकिएको छैन ।’

डा. यादवले मृतकको शव अस्पतालमै राखिएको र पीसीआर रिपोर्ट आइसकेपछि व्यवस्थापनको प्रक्रिया अघि बढाइने जनाए ।

यस अघि दुईजना बन्दीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।