Rumpum Advertisement
Dazzu

श्रीमतीसँग विवाद हुँदा तीन महिने छोरीको हत्या, ११ वर्षपछि बुवा पक्राउ

श्रीमतीसँग विवाद हुँदा तीन महिने  छोरीको हत्या, ११ वर्षपछि बुवा पक्राउ

सुनसरी, १८ कात्तिक । तीन महिने छोरीको हत्या गरी फरार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति– ४ का ५१ वर्षीय बुनिया भनिने करिम मियाँलाई पक्राउ गरेको हो ।

उनीमाथि २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेको आरोप छ ।

माईतीघरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसँग बादबिबाद हुँदा छोरीको हत्या गरेका थिए । बाटाेमा आमा छोरीलाई कुटपीट गरेका उनले घाँटी थिचेर बेहोस अवस्थामा दुबैजनालाई केरावारीमा फालिदिएका थिए ।

केही समय पश्चाच श्रीमती अजिरन खातुन होसमा आएकी थिइन् । छोरीको भने मृत्यु भएको थियो । खातुनले साेही दिन जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

जाहेरी दर्ता गरेकै दिन देखि फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी १७ कात्तिकमा पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।