Rumpum Advertisement
Dazzu

कोरोना पोजेटिभ देखिएपछि नोबेलले उपचार गर्न मानेन, घर पुगेर आत्महत्या

कोरोना पोजेटिभ देखिएपछि नोबेलले उपचार गर्न मानेन, घर पुगेर आत्महत्या

विराटनगर,१८ कात्तिक । आर्थिक अवस्था कमजोर भएका कारण नोबेलले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।

मोरङको रतुवामाई नगरपालिका–१० की ४० वर्षीय नरमाया मगरले अस्पतालले उपचार गर्न नमानेपछि घर पुगेर आत्महत्या गरेकी हुन् ।

घटना १० कात्तिकको हो । ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि उनलाई नोबेल मेडिकल कलेजले उपचार गर्न मानेन । अघिल्लो दिन अस्पताल भर्ना भएकी उनलाई उपचारमा दैनिक १८ हजार लाग्ने र अग्रिम भुक्तानी गर्नुपर्ने अस्पतालले बताएको थियो । तर उनको परिवारमा उपचार खर्च तिर्न सक्ने अवस्था थिएन ।

अस्पतालले निःशुल्क उपचार नगर्ने भन्दै घर पठाएपछि ९ कात्तिक बेलुका श्रीमान् टेकबहादुर मगरले घर लिएर गएका थिए । घर पुगेको २४ घण्टा बित्न नपाउँदै उनले शौचालयमा पासो लागेर आत्महत्या गरेको रतुवामाई नगरपालिका–१० का अध्यक्ष टंक ढकालले जानकारी दिए ।

दुबै मृगौलाले काम गर्न छाडेपछि नरमायाको गत असारयता डाइलसिस हुँदै आएको थियो । ८ कात्तिकमा स्वास्थ्यमा समस्या देखिएपछि श्रीमान्ले कुदाएर नोबेल मेडिकल कलेज भर्ना गरेका थिए । अस्पतालको इमजरेन्सी हुँदै आईसीयूमा लगियो ।

दुबै मृगौलामा समस्या भएकाले ९ कात्तिक बिहान करिब ३ बजे डाइलसिस भयो । डाइलसिस गरेको केही समयपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट आउनुअघि चिकित्सकले उपचार गरे । त्यसपछि भने उपचार गर्न मानेनन् । आइसोलेसनमा भर्ना भएपछि मात्रै उपचार हुने बताउँदै दैनिक १८ हजार रुपैयाँ खर्च हुने बताए ।

‘अस्पतालले दैनिक १८ हजार तिनुपर्छ भनेपछि भर्ना गर्ने आँट आएन,’ श्रीमान् टेकबहादुर मगरले भने, ‘उपचार गर्न पाइन्छ कि भनेर कोसिस गरेँ, सरकारले नै हात उठाएछ, खर्च नभएपछि घर लिएर आएँ ।’

९ कात्तिक बेलुका टेकबहादुरले श्रीमतीलाई लिएर घर पुगेका थिए । भोलिपल्ट दशैंको टीकाको दिन बिहान श्रीमातीसँग गफ गरेको बताउँदै उनले दिउँसो घटना भएको बताए ।

‘१० गते बिहान गफगाफ भएको थियो, तर एक्कासी यस्तो घटना भयो,’ श्रीमान्ले भने, ‘अस्पतालमै राख्न पाएको भए यस्तो हुने थिएन ।’

उनका अनुसार नरमायाको दुबै मृगौलामा समस्या देखिएपछि असारयता नियमित डाइलसिस हुँदै आएको थियो ।

डाइलसिसका लागि नोबेल मेडिकल कलेजमा पालो मिलाइएको थियो । घर टाढा भएकाले श्रीमतीको उपचारका लागि उनी विराटनगर नै डेरा गरेर बसेका थिए ।

‘दैनिक १८ हजार शुल्क र पीपीईको अलग्गै पैसा लाग्छ भन्थे,’ उनले भने, ‘सरकारले नै हात उठाइसक्यो, अस्पतालले घर लैजा भन्यो ।’

रतुवामाई नगरपालिका–१० का वडा अध्यक्ष टंक ढकालका अनुसार मृतक महिलाको परिवार आर्थिक रुपमा विपन्न छ । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले पठाएपछि घर लिएर आएको उनले बताए । उनका अनुसार संक्रमितका लागि घरसँगै रहेको गोठमा बस्ने व्यवस्था मिलाइएको थियो । गोठमै बनाएको अस्थायी शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए ।

यता, नोबेल मेडिकल कलेजले कोरोना संक्रमितलाई पैसा नभएकै कारण घर नपठाएको दावी गरेको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले संक्रमितलाई घर नपठाएको दावी गरे ।

‘हामीले बिरामीलाई घर पठायो भन्ने आरोप गलत हो,’ उनले भने, ‘हामीले उपचार गरिरहेका छौं, कसैलाई घर पठाएका छैनौं ।’