Rumpum Advertisement

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं, १८ कात्तिक । र्‍यापर समीर घिसिङ ‘भिटेन’लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो ।

अघिल्लो साता सार्वजनिक भएको ‘पारा’ बोलको गीतमा आपत्तिजनक शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो । नेपाल प्रहरीको मुख्यालयले भिटेनले ल्याएको नयाँ गीतमा प्रयोग गरिएका शब्दबारे अनुसन्धान गर्न साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।

तर, फौजदारीबाहेक गीतसंगीतको विषयलाई लिएर भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

प्रहरीको अनुसन्धानको घेरामा परेपछि भिटेनले १६ कात्तिकमा निषेधाज्ञाविरुद्ध निवेदन दिएका थिए । मंगलबार भिटेनको रिट निवेदनमा बहस भएको हो ।

गत वर्ष उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ गीतको विषयमा पक्राउ गरिएको थियो । त्यसक्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिवद्धता जनाएपछि प्रहरीले छोडेको थियो । तर, फेरि पनि अक्टोबर २४ मा सार्वजनिक गरिएको गीतमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो ।