Rumpum Advertisement
Dazzu

खेलाडीको चोटका कारण पीएसजीलाई समस्या : एम्बाप्पेले पनि लेइपिजसँगको खेल गुमाउने

खेलाडीको चोटका कारण पीएसजीलाई समस्या : एम्बाप्पेले पनि लेइपिजसँगको खेल गुमाउने

विराटनगर, १८ कात्तिक । च्याम्पियन्स लिगका दौरान खेलाडीको चोटका कारण फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समस्या आइपरेको छ । बुधबार च्याम्पियन्स लिगमा समूह चरणको खेल खेल्न लागेको पीएसजीलाई आफ्ना स्टार खेलाडीको चोटले पिरोलेको हो ।

बुधबार राति पीएसजीले जर्मन क्लब आरबी लेइपिजसँग खेल्दैछ । लेइपिजको मैदानमा हुन लागेको समूह चरणको सो खेलमा पीएसजीका मुख्य तीन खेलाडी हुनेछैनन् । नेयमार र माउरो इकार्डी चोटका कारण उपलब्ध नहुने पक्का भइसकेका बेला किलियन एम्बाप्पेले पनि लेइपिजसँगको खेल गुमाउने भएका छन् ।

चोटका कारण फ्रेन्च स्टार एम्बाप्पे लेइपिजसँगको खेलबाट बाहिरिएका हुन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका क्रममा २१ वर्षीय स्ट्राइकरले चोट बोकेको उल्लेख गरे ।

खबरका अनुसार विश्वकप विजेता एम्बाप्पे प्रशिक्षणमा समेत उपस्थित हुन सकेनन् । पीएसजीले वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै एम्बाप्पे शनिबार भएको नान्टेससँगको खेलका क्रममा घाइते भएको जनाएको छ ।

दाहिने तीघ्रामा चोट लागेका कारण उनले जर्मन भ्रमण नगर्ने विज्ञप्तिमा जनाइएको छ । पीएसजीका खेलाडीहरू नेयमार र इकार्डी पनि सो खेलमा हुनेछैनन् ।