Rumpum Advertisement
Dazzu

विराटनगरमा थप छजना काेराेना संक्रमितको मृत्यु

विराटनगरमा थप छजना काेराेना संक्रमितको मृत्यु

विराटनगर, १८ कात्तिक । विराटनगरका विभिन्न तीनवटा कोभिड अस्पतालमा उपचाररत छजना कोरोना संक्रमितको पछिल्लो १२ घण्टाभित्रमा मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । सुनसरीको धरान-१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा असोज १७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो ।

निमोनियाको पनि समस्या थपिएर स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याएर कात्तिक १२ गते न्युरोमा भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । किराँत याक्थुम चुम्लुङका केन्द्रीय सचिवसमेत रहेका उनलाई क्यान्सरको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । उनी क्यान्सरको नियमित किमोथेरापी गराउँदै आएका थिए ।

मृतक पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समयदेखि लड्दै आइरहेका थिए । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका उनी जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् । उनी धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

त्यस्तै न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । प्रशासकीय अधिकृत आचार्यका अनुसार उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा कात्तिक १४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । गम्भीर अवस्थाका उनलाई त्यही दिन न्युरोको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी आचार्यले दिए ।

यता, मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत तीनजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन् । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमै ज्यान गएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी देवले दिए ।

विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । देवका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुर घर भएका संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।