Rumpum Advertisement
Dazzu

प्लेअफमा आफ्नो भाग्य आफैं खोज्दै हैदराबाद, मुम्बई सुखद नतिजाको खोजीमा

प्लेअफमा आफ्नो भाग्य आफैं खोज्दै हैदराबाद, मुम्बई सुखद नतिजाको खोजीमा

विराटनगर, १८ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राउण्ड रोबिन लिगको अन्तिम खेल हुँदैछ । शारजाह क्रिकेट रंगशालामा बेलुकी ७ः४५ बजे हुने खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सले तालिकाको पाँचौ स्थानमा रहेको सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

यी दुईबीचको खेलमा आज हैदराबाद बढी दबाबमा हुनेछ । २०२० आईपीएलको प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागिसकेको र प्लेअफमा एक मात्र स्थान बाँकी रहँदा सो स्थानका लागि कोलकता पनि तयार भएर बसेको कारण हैदराबादलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।

चौध खेल खेलिसकेको कोलकता सात खेलमा विजयी हुँदै १४ अंकका साथ आईपीएल अंकतालिकाको चौथो स्थानमा छ । तर आज मुम्बईविरुद्धको खेलमा जित निकाल्दै नेट रन रेटमा अघि रहेको हैदराबाद कोलकतालाई पछि पार्दै प्लेअफमा पुग्ने चारमध्ये अन्तिम टोली बन्न सक्नेछ । ‘गर या मर’ को स्थितिमा रहेको हैदराबादको प्लेअफ पुग्ने सपना उसकै आजको मिहिनेतमा निर्भर रहन्छ ।

मुम्बईविरुद्धको आज खेलमा जित निकाले हैदराबादले नेट रन रेटमा कोलकतालाई उछिन्दै इलिमिनेटरमा बैंग्लोरसँगको भेट पक्का गर्नेछ । तर प्रतियोगिताकै निकै फर्ममा देखिएको मुम्बईसँगको उसको भिडन्त सहज भने हुने छैन । २०२० आईपीएलमा हालसम्म खेलेका १३ मध्ये नौ खेलमा मुम्बईले जित दर्ता गराएको छ भने हैदराबाद ६ खेलमा मात्रै विजयी भएको छ । यी दुवैका दोस्रो राउण्ड लिगका पछिल्ला तीन खेलको नतिजा समान भएपनि आजको खेल हारेमा हैदराबादको यो संस्करणको आईपीएल यात्रा टुंगिनेछ ।

आफ्नो ११औं खेलमा राजस्थानसँग पराजित भएको मुम्बईले त्यसपछिका लगातार दुई खेलमा बैंग्लोर र दिल्लीलाई स्तब्ध बनाएको छ । यता, हैदरबादले पनि पछिल्ला दुई जित निकाल्ने क्रममा दिल्ली र बैंग्लोरलाई नै पराजित गरेको छ ।

एघारौं खेलमा पञ्जाबसँग स्तब्ध बने पनि लयमा फर्किएको संकेत गर्दै तालिकामा आफ्नो स्थान सुधार गर्न सफल बनेको हैदराबाद के आजको खेलमा पनि मुम्बईविरुद्ध सफल हुँदै प्लेअफसम्म आईपुग्ला त ? यस जवाफ आजको खेलको नतिजाले दिनेछ ।

मुम्बई र हैदराबादले आईपीएल ईतिहासमा हालसम्म १५ पटक एकअर्काविरुद्ध खेलिसकेका छन् । खेलिएका १५ मध्ये मुम्बईले आठ र हैदराबाले सात पटक खेल आ–आफ्नो पक्षमा पार्न सफल भएका छन् । २०२० आईपीएलको पहिलो भेटमा हैदरबाद मुम्बईसँग ३४ रनले स्तब्ध बनेको थियो । त्यसैले आजको खेलमा हैदराबादलाई मुम्बईसँग बदला लिने मौका छ । यतिमात्रै नभई हेड–टु–हेडमा बराबरी गर्दै प्लेअफमा स्थान बनाउने समेत हैदराबादसँग सुवर्ण अवसर छ ।

२०२० आईपीएलको पछिल्लो खेलको नतिजाबाहेक यी दुई टोलीबीच पछिल्ला तीन संस्करणका भएका ६ भेटको नतिजाले पनि यी दुुईबीच कडा प्रतिस्पर्धा छ भन्ने स्पष्ट पार्छ । पछिल्ला ६ भेटमा दुवै टोलीले तीन–तीन खेलका नतिजा आ–आफ्नो पक्षमा पार्न सफल भएका छन् । २०१९ आईपीएलको दुवै भेटमा हैदराबादलाई स्तब्ध बनाएको मुम्बई २०१८ आईपीएलको दुवै खेलमा हैदराबादसँग पराजित भएको थियो । तर २०१७ आईपीएल भने दुवै टोली समान एक–एक खेलमा विजयी भएका थिए ।

मुम्बई र हैदराबादबीचको पहिलो खेल आज यी दुईबीच हुने प्रतिस्पर्धा हुने रंगशाला, शारजाहमा नै भएको थियो । टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउदै दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो । उसका लागि ओपनिङमा आएका कप्तान रोहित शर्मा ६ रनमै आउट भएपनि अन्य खेलाडीले गतिलो ब्याटिङ गरिदिए । क्विटन डी कक ६७, इशान किशन ३१, हार्दिक पाण्डेय २८ र सूर्यकुमार यादव २७ रन बनाउँदा किरोन पोलार्ड २५ र क्रुनाल पाण्डेय २० रनमा अविजित रहे ।

हैदराबादका लागि सन्दीप शर्माले दुई, सिद्धार्थ कौलले दुई र रासिद खानले एक विकेट लिए पनि बलिङका लागि आएका केन विलियमसन, टी नटराजन र अब्दुस समानदले विकेट लिन सकेनन् ।

दुई सय नौ रनको विशाल लक्ष्य पाएको हैदराबाद २० ओभरमा एक सय ७४ रनमै समेटिएपछि मुम्बईले ३४ रनको विजय प्राप्ति गरेको थियो । जवाफी ब्याटिङका लागि आएको हैदराबादको सुरुआत उत्कृष्ट थियो । ओपनरद्वय कप्तान वार्नर र जोनी बेयरस्टोको साझेदारी बलियो हुँदै गर्दा पाँचौ ओभरमो पहिलो बलमा बेयरस्टोलाई २५ रनमै पेभिलियन फर्काउन क्रुनाल पाण्डेय सफल भएपनि हैदराबादको इनिङ्स वार्नर र मनिस पाण्डेय सम्हाले ।

तर १९ बलमा तीस रन बनाएर खेलिरहेका पाण्डेयलाई जेम्स प्याटिन्सन्ले क्याच आउट गराएपछि भने हैदराबाद सम्हालिन सकेन र मुम्बईलाई अंक सुम्पिन बाध्य बन्यो । हैदराबादका लागि कप्तान वार्नरले ६० रनको अर्धशतकीय पारी खेले पनि हारबाट जोगाउन भने असमर्थ रहे । वार्नर, बेयरस्टो र पाण्डेय बाहेक हैदराबादका लागि अब्दुल समादले २०, अभिसेक शर्माले १०, प्रियम गार्गले आठ, रासिद खान र केन विलियमसनले समान तीन रनको योगदान दिए ।

हैदराबादलाई हारतर्फ डोहोर्‍याउन मुम्बईका टे«न्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले दुई–दुई विकेट लिएका थिए भने क्रुनाल पाण्डेयले प्रियम गार्गको विकेट लिन सफल भएका थिए ।

आजको खेलमा पनि मुम्बईका नियमित कप्तान रोहित शर्मा नखल्न सक्ने प्रबल सम्भावना छ । देब्रे खुट्टामा लागेको चोटका कारण शर्माले आईपीएलका दुई खेल नखेले पनि हाल कप्तानी सम्हालिरहेका किरोन पोलार्डको कप्तानीमा मुम्बईले गज्जब खेलिरहेको छ ।

त्यसैले आजको खेलमा पनि कप्तान शर्मालाई आराम गर्न दिएर क्वालिफायरका लागि तयार गर्ने दाउमा मुम्बई रहन सक्छ । कप्तान शर्मा नखेले पनि मुम्बईको ब्याटिङ, बलिङ र फिल्डिङ उस्तै चुस्त देखिएको छ ।

मुम्बईको ब्याटिङ क्विटन डी ककले चार सय १८, सूर्यकुमार यादवले तीन सय ७४, किरोन पोलार्डले दुई सय १८, हार्दिक पाण्डेयले दुई सय ४१, इशान किशानले तीन सय ९५ र सौरभ तिवारीले एक सय दुई रन बनाएर सम्हालिरहेका छन् । यस्तै, ब्यास्ट्सम्यानलाई गतिलो साथ दिने क्रममा जसप्रित बुमाराह २३ विकेट लिएर मुम्बईको बलिङ लाइन–अपमा अग्र स्थानमा छन् । बुमराहलाई पछ्याउँदै बोल्ट २०, प्याटिन्सन ११, चाहर १५, पाण्डेय पाँच, पोलार्ड तीन र नाइल पनि समान तीन विकेट लिएर आईपीएल खेलिरहेका छन् ।

मुम्बईको आजको प्रतिद्वन्द्वी हैदराबादको प्लेइङ एलेभेनमा पनि आज केही परिवर्तन हुन सक्नेछ । निकै प्रतिस्पर्धात्मक हुने आजको खेलमा हैदराबादको टोलीमा विष्फोस्टक ब्याट्सम्यान जोनी बेयरस्टोले पुनः स्थान बनाउन सक्नेछन् । विकेटकिपरसमेत रहेका बेयरस्टो सुरुआती एघार खेलमा नियमित टोलीमा परे पनि पछिल्ला दुई खेलमा उनलाई अर्का विकेटकिपर ब्याट्सम्यान क्रिद्धिमान शाहले ‘रिप्लेस’ गरिदिएका थिए ।

हैदराबादका लागि यो सिजन तीन खेल मात्रै खेल्ने मौका पाएका शाहले पछिल्ला दुई खेलमा ‘विनिङ इनिङ’ खेलेका छन् । त्यसैले आज बेयरस्टो र शाह दुवै टोलीमा समावेश हुन सक्ने र विलियमसन टोलीबाट बाहिरिने सम्भावना देखिन्छ ।

ढिलै भएपनि फर्ममा देखिएको हैदराबादका लागि कप्तान वार्नर चार सय ४४, जोनी बेयरस्टो तीन सय ४५, मनिस पाण्डे तीन सय ८०, केन विलियमसन दुई सय, क्रिद्धिमन शाह एक सय ५६ र प्रियम ग्रागले एक सय नौ रन बनाएर आईपीएल खेलिरहेका छन् ।

यस्तै, जारी आईपीएलकै सर्वाधक उत्कृष्ट बलिङ एभरेज भएका बलर राशिद खानको पनि हैदराबादलाई आजको खेलमा साथ हुनेछ । प्रतियोगितामा १३ खेल खेलिसकेको खानले १८ विकेट लिइसकेका छन् । खानसँगै टी नटराजन १४, सन्ीदप शर्मा १०, खलिल अहमेद आठ, जसोन होल्डर आठ, भुवनेश्वर कुमार तीन, विजय शंकर चार र शहबाज नदिम दुई विकेट लिएर खेलिरहेका छन् ।

निकै अनुभवी कप्तान वार्नरले सम्हालिरहेको हैदराबादले आजको खेल जित्दै के आईपीएलको प्लेअफमा आफ्नो स्थान बनाउन सफल होला त ? यसको लागि हामीले आजको खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।