Rumpum Advertisement
Dazzu

भिडालको चेतावनी : रियललाई हराएर बार्सिलोनाका फ्यानरूसँग खुशी साट्न आतुर छु

भिडालको चेतावनी : रियललाई हराएर बार्सिलोनाका फ्यानरूसँग खुशी साट्न आतुर छु

विराटनगर, १८ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब रियल मड्रिडसँग खेल्दैछ ।

आज राति नेपाली समयानुसार १ः४५ बजे हुने सो खेल रियलको मैदानमा हुनेछ । यस खेलमा रियल दबाबमा छ । जितविहीन रियल समूह ‘बी’को पुछारमा छ । रियलसँग एक अंक छ भने इन्टर २ अंकका साथमा तेस्रो स्थानमा छ ।

रियलले पहिलो खेलमा शख्तर डोनेस्कसँग हारेको थियो भने बोरुसिया मोन्चेन्ग्लाडबाचसँग बराबरी खेलेको थियो ।

इन्टरले भने दुवै खेलमा बराबरी खेलेको छ । पहिलो खेलमा मोन्चेन्ग्लाडबाडसँग २–२ गोलको बराबरी खेलेको इन्टरले दोस्रो खेलमा शख्तरसँग गोलरहित बराबरी खेलेको थियो ।

यस खेलअघि इन्टरका स्टार अर्टुरो भिडालले रियललाई चेतावनी दिएका छन् । यसै सिजन बार्सिलोनाबाट इन्टर आएका उनले रियललाई उसैको मैदानमा हराउँदै बार्सिलोनाका समर्थकसँग खुशी साट्न आतुर रहेको बताएका हुन् ।

‘यो एउटा महान् खेल हुनेछ’, खेलअघि पत्रकार सम्मेलनका क्रममा बोल्दै भिडालले भने, ‘मैले बार्सिलोनामा दुई वर्ष बिताएको छु । ती दुई वर्ष उत्कृष्ट रहे । रियलसँगको खेलमा जित निकाल्दै बार्सिलोनाका समर्थकहरूसँग खुशी साट्न म आतुर छु ।’

च्याम्पियन्स लिगमा भिडालको रियलविरुद्ध खासै राम्रो तथ्यांक छैन । बायर्न म्युनिखमा छँदा रियलले उनको टोलीलाई २०१७ र २०१८ मा सेमिफाइनलबाट आउट गरिदिएको थियो । यस्तै बार्सिलोनाले बायर्नसँग ८–२ गोलको नमिठो हार ब्यहोर्दा भिडाल स्पेनिस क्लबमा थिए ।

‘मैले रियलविरुद्ध दुईपल्ट खेलेको छु र ती दुवै खेलमा जित्न सकिएन । तर पनि म समरको अन्त्यमा धेरै नै खुशी भएँ । किनकि, बायर्नले च्याम्पियन्स लिग जित्यो’, उनले थपे ।