Rumpum Advertisement
Dazzu

चीनबाट पर्याप्त सामान नआउँदा व्यावसायी मारमा

चीनबाट पर्याप्त सामान नआउँदा व्यावसायी मारमा

काठमाडौ, १८ कात्तिक । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः सुचारु भएको छ । तर चीनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् ।

चीनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चीनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ ।

एक चीनियाँ कन्टेनर सामानले नेपालतर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचासभन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो ।

चीनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए । समान ढिलो आउँदा स्याउलगायतका खाद्य सामग्री कुहिन थालेकाले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताए ।

नाकालाई पूर्णरुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्णरुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन् । भन्सार नाका पूर्णरुपमा सञ्चालनमा नआउँदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।

अहिलेसम्म स्याउ र केही रेडिमेड कपडामात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रुपमा रहेकाले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए । उनले समान ढुवानी बढाउन आफूले चीनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताए ।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनका लागि आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए । नाका पूर्णरुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसरसमेत वृद्धि हुने भएकाले छिटोभन्दा छिटो नाकालाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।