Rumpum Advertisement

विराटनगर भन्सारबाट करोडको झिलिमिली भित्रियो, फूल आयात शून्य

विराटनगर भन्सारबाट करोडको झिलिमिली भित्रियो, फूल आयात शून्य

विराटनगर, १८ कात्तिक । तिहारका लागि विराटनगर नाका हुँदै एक करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ ।

पछिल्लो चार महिनामा एक करोड तीन लाख रुपैयाँ बराबरको बत्ती आयात भएको हो ।

बत्ती र फूलको पर्व तिहार नजिकिए पनि विराटनगर भन्सारबाट फूलको आयात भने शून्य रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक सकिँदा सयपत्री, मखमललगायतका फूलको आयात नभएको हो ।

कोरोना महामारीका कारण फूलको आयात प्रभावित भएको हो । रिक्सा र ठेलामा आयात हुने फूल नाका बन्द हुँदा आउन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सारबाट आर्थिक वर्षमा २०७६/७७ मा ५७ लाख ९६ हजार मूल्यको ६३ हजार ८ सय किलो फूल आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ३५ लाख १२ हजारको ६० हजार १ सय किलो फूल आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

चार महिनामा करोडको झिलिमिली बत्ती

विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको चार महिनाको अवधिमा एक करोड तीन लाखको चाडपर्वमा प्रयोग हुने झिलिमिली बत्ती आयात भएको छ । पाला र मैनको प्रयोग घट्न थालेपछि झिलिमिली बत्तीको माग बढेको हो ।

विराटनगर भन्सारबाट आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ४८ लाख ३२ हजार मूल्य बराबरका चाडपर्वमा प्रयोग गरिने बत्ती आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ३९ लाख २० हजारका भिलिमिली बत्ती आयात भएको विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए ।