Rumpum Advertisement
Dazzu

जनगणना २०७८ मा ६० हजारले रोजगारी पाउने

जनगणना २०७८ मा ६० हजारले रोजगारी पाउने

काठमाडौँ, १७ कात्तिक । आगामी वर्ष २०७८ सालमा हुने जनगणनामा ६० हजारले अस्थायी रोजगार पाउने भएका छन् । केन्द्रीय तथ्यांक विभागका निर्देशक डुन्डीराज लामिछानेले जनगणना २०७८ को लागि करिब ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको बताएका छन ।

डाटा संकलन, प्रशोधनदेखि विश्लेषणलगायत अन्य कार्यहरूको लागि करिब ६० हजार कर्मचारी आवश्यक पर्ने निर्देशक लामिछानेले जानकारी दिए । जसमध्ये जनगणनाका लागि फिल्डमा ४२ हजार गणक र ९ हजार सुपरीवेक्षक र ६ सय जना डाटा इन्ट्री गर्ने जनशक्ति परिचालन गरिने तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिए ।

राष्ट्रिय जनगणनाका लागि अनलाइनमार्फत गणक र सुपरीवेक्षकको विज्ञापन खोलिनेछ । त्यसका लागि एक डेढ महिनाको समय दिई सूचना प्रकाशित गरिने र आवेदकहरूको सूचि तयार गरी सर्ट लिस्ट बनाई सर्ट लिस्टमा राखेर जिल्लाले भर्ना गर्नेछ ।

गणकका लागि १२ कक्षा पास भएको हुनुपर्छ । सुपरीवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्नेछ । पहिलेका जनगणहरूमा स्थानीय शिक्षकहरूलाई नै गणकको रूपमा प्रयोग गरिए पनि अब बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गरिने उनले बताए ।