Rumpum Advertisement
Dazzu

उद्घाटन भएको सात महिनापछि सुरु भयो जिपलाइन

उद्घाटन भएको सात महिनापछि सुरु भयो जिपलाइन

धरान, १७ कात्तिक । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (¥याफ्टिङ) सुरु गरेपछि अन्य साहसिक खेल पनि सुरु हुन थालेका छन् ।

पाराग्लाडिङपछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाइन खेल सुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकोे जिपलाइन खेल सात महिनापछि आजबाट सुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भएपछि बन्द भएको थियो ।

भेडेटारमा दुई वर्ष अध्ययन गरेर करिब तीन करोड लगानीमा जिपलाइन सुरुआत गरेको सञ्चालकमध्येका एक विवश भण्डारीले जानकारी दिए । उनका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्यान्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०/४० सेकेण्ड लाग्छ ।

क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइँदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन् । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एक हजार पाँच सय र कपलको एक हजार आठ सय रुपैयाँ मूल्य तोकिएको छ ।

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सय केजीसम्मको रहेको कम्पनीले जनाएको छ । साहसिक पर्यटकहरुको पाँच लाखको बीमा पनि भएकाले सुरक्षाको चिन्ता लिनु नपर्ने सञ्चालक बताउँछन् ।

नेपालमा हुँदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच/छवटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिए । उनका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जिपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ ।

साइकिलिङ, बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा (र्‍याफ्टिङ) सेवा दिँदै आएका छन् । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ । रासस