Rumpum Advertisement
Dazzu

सहकारीका अध्यक्ष र व्यवस्थापकमाथि बचत हिनामिना गरेको आरोप, सर्वसाधारणको लाखौं रकम जोखिममा

अध्यक्ष भन्छन् : व्यवस्थापक सम्पर्कमा छैनन्

सहकारीका अध्यक्ष र व्यवस्थापकमाथि बचत हिनामिना गरेको आरोप, सर्वसाधारणको लाखौं रकम जोखिममाअध्यक्ष भन्छन् : व्यवस्थापक सम्पर्कमा छैनन्

विराटनगर, १७ कात्तिक । विराटनगर महानगरपालिका–५ जमुनगाछीका सुमन खरेलले जमुनेश्वर वचत तथा ऋण सहकारीबाट आफ्नो वचत फिर्ता माग्न थालेको एक वर्षभन्दा बढी भयो ।

उनी र उनको परिवारका सदस्यले सहकारीमा २४ लाख हाराहारी जम्मा गरेका छन् । तर फिर्ता माग्दा अझै पाएका छैनन् । पछिल्लो समय सहकारी बन्द गरेर अध्यक्ष र व्यवस्थापक सम्पर्कमा नआएका कारण उनी तनाबमा छन् ।

जमनुगाछीकै आरती गेलाल र उनको घरका सदस्यले पाँच लाखभन्दा बढी रकम जम्मा गरेका छन् । फिर्ता माग्दा नपाएको उनले बताइन् । तीन महिनायता सहकारी बन्द गरेर अध्यक्ष शिव थापा र व्यवस्थापक बाबुराम पोखरेल सम्पर्कमा नआउँदा समस्या भएको उनले बताइन् ।

‘बिहान–बिहान तरकारी बेच्नेले पनि सहकारीमा वचत गरेका छन्,’ गेलाल भन्छिन्, ‘कार्यालय खुल्दैन, कहिले काहीँ आउने अध्यक्षले वचत फिर्ता माग्दा हप्कीदप्की गर्न खोज्छन् ।’

सुमनको गुनासो पनि उस्तै छ । पटक–पटक आफ्नो वचत फिर्ता माग्दा नदिएको बताउँदै उनले भने, ‘डेढ वर्षदेखि सहकारीमा विवाद छ । वचत फिर्ता माग्दै सबैतिर निवेदन दिएका छौं । तर वचत फिर्ता पाएको छैन ।’

सुमन र आरती प्रतिनिधिमात्र हुन् । सहकारीमा वचत गरेका ३५० भन्दा बढीको रकम जोखिममा परेको छ ।

आन्तरिक किचलोका कारण सहकारीमा अडिट भएको छैन । जसका कारण सर्वसाधारणले जम्मा गरेको एक करोड २५ लाखभन्दा बढी रकम जोखिममा परेको सदस्यहरुको गुनासो छ ।

सञ्चालक समितिमा विवाद, वडा अध्यक्षको रोहबरमा सुटुक्क खोलियो ताला

सहकारीमा अध्यक्ष र कार्यसमितिबीच नै विवाद छ । अध्यक्षबाहेक अन्य कार्यसमिति वचत फिर्ता गर्नुपर्ने बताउँदै आएका छन् । कार्यसमितिका सदस्य र पदाधिकारीहरु अध्यक्षले बदमासी गर्दा समस्या भएको बताउँछन् । सहकारीका अध्यक्ष थापाले भने आफूले नभई व्यवस्थापक पोखरेलले बदमासी गरेको बताउँछन् ।

सहकारीको उपाध्यक्ष बिमल खरेल र सचिव राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षले मनोमानी गर्दा समस्या उत्पन्न भएको दावी गरे ।

अध्यक्ष थापा, व्यवस्थापक बाबुराम पोखरेल र सहव्यवस्थापक निशा गौतमले सहकारीमा जम्मा भएको रकम आफूखुसी खर्च गरेका कारण हिसाब देखाउनबाट पन्छिरहेको सचिव सापकोटाले आरोप लगाए ।

उनका अनुसार सहकारीमा अडिट भएको छैन । वचतकर्ताबाट एक करोड २५ लाखभन्दा बढी संकलन भएको बताउँदै उनले सहकारीको समस्या सामधानका लागि डेढ वर्षयता पहल भइरहेको बताए ।

सटर भाडामा लिएर सञ्चालन हुँदै आएको सहकारीमा चार महिनायता ताला लागेको थियो । सोमबार बिहान विराटनगर महानगरपालिका–५ का अध्यक्ष मीनकुमार आचार्यको उपस्थितिमा ताला खोलिएको छ ।

वडा अध्यक्ष मीनकुमार आचार्यले सहकारी नखुल्दा वचतको हिसाब हुन नपाएको अध्यक्षले गुनासो गरेपछि आफ्नो रोहबरमा ताला खोलिएको बताए । ‘ताला खोल्दा म रोहबरमा मात्रै बसेको हो,’ उनले भने, ‘ताला खोलेर सहकारी सञ्चालक समितिलाई जिम्मा लगाइएको छ ।’

अध्यक्ष भन्छन् : व्यवस्थापक सम्पर्कमा छैनन्

सहकारीका अध्यक्ष थापा व्यवस्थापक बाबुराम पोखरेल सम्पर्कविहीन भएका कारण सहकारीको ताला फोडिएको बताउँछन् ।

व्यवस्थापक सम्पर्कमा नआउँदा सर्वसाधारणको वचत तिर्न फिर्ता गर्न नसकिएको बताउँदै उनले अब काम अघि बढाउने बताए ।

व्यवस्थापकलाई पर्खँदा सहकारीको अडिट पनि रोकिएको उनले बताए । ‘व्यवस्थापक सम्पर्कविहीन छन्,’ उनले भने, ‘वडा अध्यक्षको रोहबरमा ताला खोलेर समितिलाई चाबी जिम्मा लगाइएको छ ।’