Rumpum Advertisement

महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नु पर्छ : गोल्छा

महासंघभित्रको राजनीतिक क्यान्सरलाई निकाल्नु पर्छ : गोल्छा

काठमाडौ, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् ।

महासंघलाई पूर्वअध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोप्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अव निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यायसी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताएका हुन् ।

उनले भने, ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ । राजनीतिको क्यान्सर । अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ ।’

सबै पूर्वअध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए । निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वाससमेत व्यक्त गरे ।

आफूले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुनेसमेत बताए । उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।