Rumpum Advertisement
Dazzu

जितपछि रोनाल्डोलाई लिएर युभेन्टसका प्रशिक्षकले के भने ?

जितपछि रोनाल्डोलाई लिएर युभेन्टसका प्रशिक्षकले के भने ?

विराटनगर, १७ कात्तिक । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मैदानमा आफ्नो जिम्मेवारी पूरा गरेको प्रतिक्रिया दिएका छन् ।

सिरी ‘ए’ अन्तर्गत स्पेजियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोको विषयमा बोल्दै पिर्लोले रोनाल्डोले मात्र आफ्नो काम पूरा गरेको बताए ।

आइतबार बेलुका स्पेजियाविरुद्ध दुई गोल गर्दै युभेन्टसलाई शानदार जित दिलाएका थिए । पोर्चुगिज स्टार रोनाल्डोलको उत्कृष्ट प्रदर्शनमा युभेन्टसले स्पेजियामाथि ४–१ गोलको शानदार जित दर्ता गरेको थियो ।

स्पेजियाको मैदानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोनाल्डोले मैदान छिरेको तीन मिनेटभित्रै गोल गरेका थिए । यस्तै एक गोल भने उनले पेनाल्टीमा गरेका थिए । रोनाल्डो कोरोना संक्रमण भइ २० दिनपछि मैदान फर्किएका थिए ।

‘पहिलो हाफमा पनि हामीले मौकाहरू सिर्जना गरेका थियौं’, खेलपछि बोल्दै पिर्लोले भने, ‘धेरै अवसर पाउँदापाउँदै पनि पहिलो हाफमा बराबरी हुनु लाजमर्दो हो’, खेलपछि पत्रकार सम्मेलनका क्रममा पिर्लोले भने ।

‘हामी अवसर हुँदाहुँदै पनि पछि परेका थियौं । तब रोनाल्डो मैदानमा उत्रिए र उनले निकै नै राम्रो काम गरे । उनले मात्र आफ्नो जिम्मेवारी पूरा गरेका हुन् । हामीले अहिले अंक तालिकामा आफ्नो स्थान खोजिरहेका छैनौं किनकि हामीलाई थाहा छ हामी केही अंकले पछि परेका छौं’, उनले भने ।