Rumpum Advertisement
Dazzu

आईपीएल : अघोषित क्वार्टरफाइनलमा भिड्दै दिल्ली र बैंग्लोर

आईपीएल : अघोषित क्वार्टरफाइनलमा भिड्दै दिल्ली र बैंग्लोर

विराटनगर, १७ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो र दोस्रो राउण्ड रोबिन लिग गरी कूल ५६ खेल हुन्छन् । दुवै लिगको समाप्तिसँगै अंक तालिकाको पहिलो र दोस्रो स्थानका दुई टोलीले ‘पहिलो क्वालिफायर’ खेल्छन् । यसमा विजयी हुने टोलीले आईपीएलको फाइनलमा सोझै स्थान बनाउँछ ।

अंकतालिकाको तेस्रो र चौथो हुने टोलीले भने ‘इलिमिनेटर’ खेल्नुपर्छ । इलिमिनेटरमा जित निकाल्ने टोली सिधैं फाइनल भने पुग्दैन । आईपीएलको फाइनल खेल खेल्न इलिमिनेटरमा विजयी टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग ‘दोस्रो क्वालियर’मा भिड्नुपर्छ । यस खेलमा जित निकाल्ने टोलीले मात्रै आईपीएलको फाइनल खेल्न पाउने नियम छ ।

दुई चरणको राउण्ड रोबिन लिगका आधारमा खेलाइने भएकाले आईपीएलमा क्वार्टर र सेमिफाइनल हुँदैनन् । फाइनल मात्रै हुने आईपीएलमा आज भने अघोषित रूपमै भएपनि क्वार्टरफाइनल खेल हुँदैछ । अंकतालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोर र तेस्रो स्थानको दिल्ली क्याप्टिल्स आज आ–आफ्नो खेलमा एक अर्काविरुद्ध शेख जायेद क्रिकेट रंगशालामा भिड्दैछन् ।

दुवैका लागि निकै महत्वपूर्ण हुने आजको खेलमा दुवै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने पक्का छ । १३ खेलबाट समान अंक बटुलेका यी दुईमध्ये आजको खेल जित्ने टोलीले बिहीबार दुबई रंगशालामा मुम्बईविरुद्ध पहिलो क्वालियफायर खेल्नेछ ।

आईपीएल समूह चरणको एक खेल खेल्न बाँकी रहेको मुम्बई १८ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ । बैंग्लोर र दिल्लीमध्ये आज पराजित हुने टोलीको भने यस संस्करणमा यात्रा लगभग समाप्त हुने निश्चित छ ।

आईपीएलमा १३ खेल खेलिसकेको हैदराबादको एक खेल बाँकी रहेको र नेट रन रेटमा यी दुवैभन्दा माथि रहेको कारण यी दुवै टोलीलाई आजको खेलमा अझै बढी दबाब हुनेछ । यसबाहेक १४ खेल खेलिसकेको कोलकता १४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको र नेट रन रेटमा यी दुवैसँग नजिकै रहेकाले पनि आजको खेल हार्ने टोलीको प्लेअफ पुग्ने सपना चकनाचुर हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट फर्ममा देखिएका बैंग्लोर र दिल्ली दुवैले पहिलो राउण्ड रोबिन लिगका सातमध्ये पाँच खेलमा जित निकालेका थिए । तर दोस्रो राउण्ड रोबिन लिगमा लय गुमाएका यी दुवैले सोचेअनुरुप खेलमा प्रदर्शन गर्न सकिरहेका छैनन् ।

दोस्रो राउण्ड रोबिन लिगका ६ खेल खेलिसकेको दिल्ली चार खेलमा पराजित भएको छ । सुरुआती दुई खेलमा जित निकाले पनि त्यसपछिका चार खेलमा पञ्जाब, कोलकता, हैदराबाद र मुम्बईसँग दिल्ली स्तब्ध बनेको छ ।

यता, बैंग्लोरको पनि दोस्रो राउण्ड रोबिन लिगमा प्रदर्शन गतिलो छैन । मिश्रित नतिजा आत्मसाथ गरिरहेको बैंग्लोरले दोस्रो राउण्ड रोबिन लिगको आफ्नो पहिलो खेलमा नै पञ्जाबसँग आठ विकेटको हार व्यहोरेको थियो ।

तर त्यसपछि राजस्थान र कोलकतालाई हराएको बैंग्लोर आफ्ना पछिल्ला तीन खेलमा भने सम्हालिन सकिरहेको छैन । दोस्रो राउण्ड रोबिनको चौथो र २०२० आईपीएलको आफ्नो ११औं खेलमा चेन्नईसँग आठ विकेटले पराजित भएको बैंग्लोर १२औं खेलमा मुम्बईसँग पाँच विकेटले र निकै नै महत्वपूर्ण आफ्नो तेह्रौं खेलमा हैदराबादसँग पाँच विकेटल पराजित भएको छ ।

पछिल्ला खेलहरूमा सम्हालिन नसकिरहेका यी दुवै टोलीमध्ये आजको खेलमा बाजी मार्दै कसले आईपीएल उपाधिको सपना जिवितै राख्न सफल हुने त्यसको लागि हामीले शेख जायेद रंगशालामा बेलुकी ७ः४५ हुने खेलको नतिजा कुर्नै पर्ने हुन्छ ।

२०२० आईपीएलको २४औं खेलमा भएको यी दुईबीचको भेटसहित बैंग्लोर र दिल्लीले हालसम्म एकअर्काविरुद्ध २४ खेल खेलिसकेका छन् । खेलिएका २४ मध्ये एक खेल नतिजाविहीन हुनुबाहेक बैंग्लोर दिल्लीविरुद्ध हावी भएको देखिन्छ । दिल्लीले हालसम्म नौ पटक बैंग्लोरविरुद्ध जित दर्ता गर्दा बैंग्लोरले भने दिल्लीलाई १४ पटक स्तब्ध बनाइसकेको छ ।

यी दुईबीच भएका पछिल्ला चार संस्करणका आठ भेटको नतिजाले पनि बैंग्लोरलाई बलियो स्थितिमा देखाउँछ । आठमध्ये बैंग्लोरले पाँच खेल जितेको छ भने दिल्लीले तीन खेलमा मात्रै बाजी मारेको छ ।

तर गत संस्करणको दुवै खेल र जारी संस्करणको पहिलो भेटमा बैंग्लोरलाई दिल्लीले स्तब्ध बनाइसकेकाले पनि आजको खेलमा दिल्लीभन्दा बैंग्लोर केही दबाबमा हुनेछ । यी दुईबीच दुबई रंगशालामा भएको पहिलो भेटमा दिल्लीले बैंग्लोरलाई ५९ रनले स्तब्ध बनाएको थियो । टस जितेर पहिले दिल्लीलाई ब्याटिङको निम्तो दिएको बैंग्लोरले जितका लागि एक सय ९७ रनको विशाल लक्ष्य पाएको थियो ।

दिल्लीका लागि ओपनरद्वय सअले ४२ र धवनले ३२ रनको गतिलो सुरुआत दिएका थिए । त्यसबाहेक स्टोइनिसले ५३, पन्तले ३७, कप्तान ऐयर र हिटमायरले समान ११ रनको योगदान दिँदै दिल्लीलाई बैंग्लोरविरुद्ध बलियो ढंगले प्रस्तुत गरेका थिए ।

बलिङमा खासै सफल नदेखिएका बैंग्लोरका बलरमध्ये वासिङगटन सुन्दरबाहेक अन्य पाँच बलरको बलिङ इकोनमी आठभन्दा ज्यादा थियो । तथापि, आइसुरो उडाना र मोइन अलीले समान एक र मोहम्मद सिराजले दिल्लीका दुई विकेट भने लिन सफल भएका थिए ।

विशाल योगफल पछ्याउँदै जवाफी ब्याटिङका लागि क्रिजमा आएका बैंग्लोरका ब्याट्सम्यानले भने दिल्लीका बलरसामु खुलेर खेल्नै सकेनन् । कप्तान कोहलीले ४३ रन बनाउनुबाहेक अन्य खेलाडीले व्यक्तिगत रूपमा १७ रन भन्दा बढी बनाउन सकेनन् ।

ओपनरद्वय पाडिक्कल चार र फिन्च १३ रनमै पेभिलियन फर्किएपछि धर्मराएको बैंग्लोरको इनिङ्स कप्तान कोहलीले सम्हाल्न खोजे पनि कोहलीपछि आएका एबी डी, अली, सुन्दर, दुबे, उडाना, शैनी, शिराज र चाहलले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा बैंग्लोरले दिल्लीसँग पराजय भोगेको थियो ।

बैंग्लोरको ब्याटिङ ध्वस्त बनाउन किफायती बलिङ गर्ने क्रममा दिल्लीका पाँचमध्ये हर्सल पट्टेलको इकोनमी सर्वाधिक रह्यो । १०.७५ इकोनमी पट्टेलको रहे पनि रबाडा, नोर्किया, आश्विन र अक्सरको बलिङ इकोनमी ६.५० कटेन । दिल्लीका लागि रबाडाले चार, नोर्किया र अक्सरले समान दुई र आश्विनले एक विकेट लिएका थिए ।

दोस्रो सिजन दिल्लीका कप्तानी सम्हालिरहेका युवा कप्तान ऐयरको टोलीमा कागिसो रबाडा, मार्कस स्टोइनिस, शिखर धवन, रविचन्द्रन आश्विन, सिम्रन हिटमेयर, पृथ्वी सअ, अक्सर पट्टेल, एनरिच नोर्किया, रिसभ पन्त र हर्सल पट्टेल जस्ता खेलाडीहरू छन् ।

यता, अनुभवी कप्तान कोहलीले सम्हालिरहेको टोलीमा पनि एबी डी भिलियर्स, आरोन फिन्च, युजवेन्द्र चाहल, आइसुरु उडाना, नवदीप शैनी, देवदत्त पाडिक्कल, शिवम दुवे, वासिङ्गटन सुन्दर, मोइन अली, क्रिस मोरिस, जोस फिलिप्स र मोहम्मद शिराज जस्ता कुशल र भरपर्दा खेलाडीहरु छन् ।

अनुभव र युवा जोशले भरिएका खेलाडीहरूबीच हुन गइरहेको आजको खेल निकै नै प्रतिस्पर्धात्मक हुनेछ । प्लेअफमा आफ्नो स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा बीच खेलिने खेलमा कप्तान कोहली वा ऐयरमध्ये कसले बाजी मार्ने हो त्यो थाहा पाउन हामीले खेलको नतिजा पर्खिनुपर्ने हुन्छ ।