Rumpum Advertisement
Dazzu

राजदूतहरुको संसदीय सुनुवाई २७ गते हुने

राजदूतहरुको संसदीय सुनुवाई २७ गते हुने

काठमाडौ, १७ कात्तिक । विभिन्न देशका लागि प्रस्तावित तीनजना राजदूतको संसदीय सुनुवाई कात्तिक २७ गते हुने भएको छ ।

प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो । अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ ।

प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा चारवटा उजुरी परेका छन् । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्ष्मणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका हुन् ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।