Rumpum Advertisement
Dazzu

च्याम्पियन्स लिगमा इन्टरको सामना गर्न जिदानको यस्तो रणनीति

च्याम्पियन्स लिगमा इन्टरको सामना गर्न जिदानको यस्तो रणनीति

विराटनगर, १७ कात्तिक । च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानको सामना गर्न रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान तयार देखिएका छन् । समूह चरणअन्तर्गतको सो खेलका लागि फ्रेन्च कोच जिदान पुरानो रणनीतिका साथ तयार देखिएका हुन् ।

मंगलबार राति रियलको मैदानमा हुने सो खेलका लागि जिदानले अग्रपंक्तिमा इडेन हाजार्ड, करिम बेन्जेमा र मार्को एसेन्सियोलाई ‘रेडी’ गरेका छन् । उनले आफ्नो बीबीसी फर्म अझै भुल्न सकेका छैनन् ।

उनले अग्रपंक्तिमा बेल, बेन्जेमा र रोनाल्डोलाई खेलाउने गर्दथे । सोहीअनुरुप उनले इन्टरविरुद्ध एसेन्सियो, बेन्जेमा र हाजार्डलाई खेलाउने योजना बनाएको बताइएको छ ।

पछिल्लो समय उनले ला लिगाअन्तर्गत हुएस्कासँगको खेलमा पनि सोही फर्म्याटमा खेलाएका थिए । जुन खेलमा रियलले ४–१ गोलको जित निकालेको थियो । यसै खेलबाट हाजार्डले पुनरागमन गरेका थिए ।

हाजार्डले ७ अगस्टबाट खेल्न पाएका थिएनन् । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेगको खेलयता मैदानबाहिर रहेका बेल्जियन स्टार हाजार्डले शनिबार सिजनको पहिलो खेल खेलेका हुन् ।

यस्तै उनले ३९२ दिनपछि गोलसमेत गरेका थिए । पछिल्लो पटक उनले ५ अक्टोबर २०१९ मा ग्रानडाविरुद्ध गोल गरेका थिए । जुलाइ २०१९ मा चेल्सीबाट स्पेन आएका उनको त्यो डेब्यू गोल थियो ।

यसैगरी रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा फेडेरिको भाल्भेर्डेले एक गोल गरेका थिए । रियलले नौ महिनापछि ४ गोलको जित निकालेको हो । उसले ९ फेब्रुअरीमा ओसासुनामाथि ४–१ गोलको जित निकालेको थियो ।