Rumpum Advertisement
Dazzu

अमेरिकी निर्वाचन २०२० : प्रारम्भिक मतदानमा खस्यो झण्डै आधा मत

अमेरिकी निर्वाचन २०२० : प्रारम्भिक मतदानमा खस्यो झण्डै आधा मत

विराटनगर, १७ कात्तिक । अमेरिकामा अग्रिम मतदान गर्ने बढेका छन् । निर्वाचन सुरु हुन तीन दिन अघिसम्म २०१६ मा भएको राष्ट्रपति निर्वाचनको दुई तिहाईभन्दा बढीले मतदान गरेका छन् ।

पछिल्लो समयसम्म ९ करोड १६ लाख अमेरिकीहरुले भोट दिएका छन् । निर्वाचनको दिनसम्म सहभागी हुने मतदाताको संख्या अहिले नै यकिन गर्न नसकिने भए पनि महामारीका बीच यस वर्षको निर्वाचनमा विगतभन्दा धेरै प्रारम्भिक मत खसेको हो ।

५० वटा राज्यमा भएको निर्वाचन कार्यालय, सीएनएन र एडिसन रिसर्चका अनुसार हालसम्म खसेको प्रारम्भिक मतले राष्ट्रव्यापीरुपमा दर्ता गरिएको ४३ प्रतिशत मतदाताको प्रतिनिधित्व गर्दछन् ।

१६ राज्यहरुले नोभेम्बर ३ अघि राष्ट्रव्यापीरुपमा दर्ता गरिएका मतदाताहरुको आधा जनसंख्याले मतदान गरिसकेको जानकारी दिएका छन् । अहिले राष्ट्रव्यापीरुपमा प्राप्त भएको ९ करोड १६ लाख प्रारम्भिक मतहरुले २०१६ को राष्ट्रपति निर्वाचनमा खसेको १३ करोड ६५ लाखभन्दा बढी मतहरुको ६७ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

प्रारम्भिक मतदाताहरुको संख्यामा राष्ट्रव्यापीरुपमा बढिरहेको छ । पहिला हुने निर्वाचनहरुको तुलनामा २०२० मा हुन गइरहेको निर्वाचनमा इमेल तथा हुलाकको माध्यबाट दिइने प्रारम्भिक मतदानको संख्यामा उल्लेख्य वृद्धि भएको हो । महामारीका कारण मानिसहरु मतदान केन्द्रमा हुने भिडबाट टाढा रहन चाहन्छन् । सोही कारण प्रारम्भिक चरणमा मतदान गर्ने बढेको बताइएको छ ।

डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनका समर्थकहरुले मेल–इन मतदानमा कडा प्राथमिकता दिएका छन् । जबकि अधिकांश राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले चुनाबको दिनमा भोट दिन चाहनेबारे आफ्नो विचार व्यक्त गरेका छन् । (सिएनएनको सहयोगमा)