Rumpum Advertisement
Dazzu

महानगरले दियो कान्ति अस्पताललाई पीसीआर मेसिन

महानगरले दियो कान्ति अस्पताललाई पीसीआर मेसिन

काठमाडौ, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डा. कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी मेसिन हस्तान्तरण गरिएको हो ।

चीनको नानजिङ सहरबाट प्राप्त दुईमध्ये एक थान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । नानजिङ र काठमाडौं महानगरको भागिनी सम्बन्ध छ ।

मेसिन हस्तान्तरणपछि मेयर शाक्यले जतिसक्दो चाँडो मेसिन जडान गरी सेवा सुरु गर्न आग्रह गरे । सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ महानगरले आवश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण आएको र यो तेस्रो चरणको कार्यक्रम रहेको उनले बताए । मेयर शाक्यले उपचाररत बालबालिकालाई राम्रो सेवा दिन आग्रह गर्दै थप सहयोग गर्न महानगर तयार रहेको बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडौँ महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताए । पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताए ।

कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म दुईजनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

भगिनी सम्बन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदानस्वरुप दिएका सामग्रीमध्ये केही सामग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।