Rumpum Advertisement

दुई गोल गर्दै युभेन्टसलाई जिताएपछि रोनाल्डोले भने : ‘क्रिस्टियानो इज ब्याक’

दुई गोल गर्दै युभेन्टसलाई जिताएपछि रोनाल्डोले भने : ‘क्रिस्टियानो इज ब्याक’

विराटनगर, १७ कात्तिक । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो उत्कृष्ट पुनरागमनमा उत्साहित देखिएका छन् । आइतबार बेलुका स्पेजियाविरुद्ध दुई गोल गर्दै युभेन्टसलाई शानदार जित दिलाएपछि रोनाल्डो उत्साहित भएका हुन् ।

पोर्चुगिज स्टार रोनाल्डोलको उत्कृष्ट प्रदर्शनमा युभेन्टसले सिरी ‘ए’अन्तर्गत ४–१ गोलको शानदार जित दर्ता गरेको थियो । स्पेजियाको मैदानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोनाल्डोले मैदान छिरेको तीन मिनेटभित्रै गोल गरेका थिए ।

यस्तै एक गोल भने उनले पेनाल्टीमा गरेका थिए । कोरोना संक्रमण भइ २० दिनपछि मैदान फर्किएका उनी आफ्नो प्रदर्शनपछि उत्साहित बने ।

‘मेरो स्वास्थ्य स्थिर छ । मलाई कोरोनाको कुनै लक्षण थिएन र मैले राम्रो महशूस गरिरहेको छु । आज म मैदान फर्किएँ र मलाई मनपर्ने राम्रो काम गरेँ । मलाई फुटबल खेल्न मन पर्छ’, उनले ‘स्काई स्पोर्ट्स’सँग भने ।

‘सिरी ‘ए’ निकै नै प्रतिस्पर्धात्मक लिग हो । मिलानले अहिले राम्रो काम गरिरहेको छ । लाजियो र नापोलीको काम पनि राम्रो छ । हामीलाई अझै कठिन कार्य गर्नुछ र हामीले राम्रो गरिरहेका पनि छौं,’ उनले थपे ।

यसैगरी रोनाल्डोले आफू लिगमा फर्किनु नै महत्त्वपूर्ण भएको बताए । ‘क्रिस्टियानो अब फर्कियो र यो नै महत्त्वपूर्ण कुरा हो’, उनले भने ।