Rumpum Advertisement
Dazzu

दाह्री ग्याङको ‘नो सेभ नोभेम्बर अभियान’

दाह्री ग्याङको ‘नो सेभ नोभेम्बर अभियान’

सविन घिमिरे

विराटनगर, १७ कात्तिक । अंग्रेजी महिना नोभेम्बर सुरु भएसँगै सामाजिक सञ्जालमा ‘नो सेभ नोभेम्बर’ च्यालेन्ज चर्चामा छ । नो सेभ नोभेम्बर एक महिनाका विश्वव्यापी अभियान हो जुन अवधिमा सहभागीले आफ्नो कपाल तथा दाह्री सेभ गर्न र काटछाट गर्न छोड्छन् ।

च्यालेन्जमा सहभागी पुरुष हुन्छन् । अभियानअन्तर्गत नोभेम्बर महिनाभर पुरुषहरुले दाह्री, जुँगा तथा कपाल नकाटिकन क्यान्सरको रोकथामको बारेमा सचेतना दिने र क्यान्सर रोगसँग लडिरहेकाहरुलाई आर्थिक सहयोग गर्छन् ।

अभियानमा क्यान्सरका कारणबाट कपालविहीन भएकाहरुका लागि कपाल दान गर्दछन् । कसैले महिनाभर कपाल तथा दाह्री नकाटी सो काट्ने खर्च क्यान्सर रोगीहरुका लागि सहयोग गर्छन् । त्यसो त कपाल अथवा दाह्री नभएका पुरुष तथा महिलाहरुले पनि विभिन्न माध्ययममार्फत् अभियानलाई साथ दिएका छन् ।

कोलोरेक्टल क्यान्सरससँग सघर्ष गरिरहेका म्याथ्यू हिलको सन २००७ नोभेम्बर महिनामा मृत्यु भएको दुई वर्षपछि अर्थात् सन् २००९ बाट नो सेभ नोभेम्बर सुरु भएको हो ।

उनी र उनको परिवारले नोभेम्बर महिनामा कपाल तथा दाह्री नकाट्ने र रेजर, क्रिम किन्ने खर्च प्रोस्टेट, अण्डकोष तथा कोलोरेक्टल क्यान्सर जस्ता रोगहरूको अनुसन्धान गर्ने परोपकारी संस्थालाई चन्दा दिने कार्य पहिलेदेखि नै अपनाइसकेका थिए ।

नोभेम्बरमा अनुहारको कपाल प्रयोग गर्ने अभियान सन् २००३ मा अष्ट्रेलियामा एक समूहबाट सुरु भयो, जसलाई उनीहरुले मुभेम्बर नामाकरण गरेका थिए । त्यस समय समूहले महिनाभर आफ्नो जुँगा पालेर पुरुष स्वास्थ्य च्यारिटीका लागि रकम संकलन गरेका थिए ।

मुभम्बर फाउन्डेशन र नो–सेभ नोभेम्बर दुई फरक संस्था हो, तर दुबैले नोभेम्बर महिनाको समयमा दाह्री, जुँगा नकाट्न र स्वास्थ्य जागरण फैलाउन र क्यान्सरजस्ता परोपकारहरूलाई दान गर्न समर्थन र आह्वान गर्दछन् ।

नेपालमा पनि नो सेभ नोभेम्बर अभियानअन्तर्गत ‘दाह्री ग्याङ’ले क्यान्सरसँग सम्बन्धित रहेर विभिन्न कार्य गर्दै आएको छ ।

दाह्री ग्याङमा एक लाखभन्दा बढी युवाहरु जोडिएका छन् । सन् २०१७ को नोभेम्बर महिनामा दाह्री ग्याङले नो सेभ नोभेम्बर अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरेको थियो । सो क्रममा भक्तपुर अस्पतालमा १० थान बेड वार्मर, १ थान एलईडी टीभी र साउन्ड सिस्टम तथा भरतपुर क्यान्सर अस्पताल, चितवनमा क्यान्सरपीडित बालबालिकाहरुका लागि पार्क निर्माणका लागि तीस हजार सहयोग गरेको थियो ।

सन् २०१८ मा दाह्री ग्याङ पोखरामा पनि नोभेम्बर महिनाभर दाह्री, कपाल काट्दा हुने रकम संकलन गरेको थियो । एकजना क्यान्सरपीडितलाई हस्तान्तरण गर्न संकलन गरिएको रकम हस्तान्तरणअगावै पीडितको मृत्यु भएपछि १० हजार रुपैयाँ नवीन माध्यमिक बिद्यालय, गैह्रापाटन, पोखरामा अध्ययनरत छात्रा रुविना नेपाललाई हस्तान्तरण गरेको थियो ।

सन् २०१९ मा देशभरि क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम गरेको थियो । मोरङ, काभ्रे, काठमाडौं, चितवन, नवलपुर, रुपन्देही, कास्की र कैलाली गरी आठ जिल्लाका १५ वटा विद्यालयमा अध्ययनरत १५ सयभन्दा बढी विद्यार्थीलाई जानकारी गराइएको थियो ।

दाह्री ग्याङले देशभर चलाएको क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम अवधिमा देशबाहिर सक्रिय कतार दाह्री ग्याङले १५ हजार र काठमाडौंको तर्फबाट १० हजार गरी २५ हजार रुपैयाँ रक्त क्यान्सरबाट पीडित दाह्री ग्याङका सदस्य मचाकाजी महर्जनका ५ वर्षीय छोराको उपचारका लागि हस्तान्तरण गरेको थियो । यो वर्ष दाह्री ग्याङले यस वर्ष क्यान्सरसम्बन्धी विभिन्न जनचेतना कार्यक्रमका सञ्चालन गर्ने बताएको छ ।

विश्वका विभिन्न देशमा नोभेम्बर महिनामा पुरुषहरुले दाह्री तथा कपाल नकाटी विभिन्न स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने च्यालेन्जको रुपमा नो सेभ नोभेम्बर अभियान सञ्चालन भइरहेको छ ।