Rumpum Advertisement
Dazzu

मोरङमा थप चार कोरोना संक्रमितको मृत्यु

मोरङमा थप चार कोरोना संक्रमितको मृत्यु

विराटनगर, १७ कातिक । सोमबार बिहान मोरङमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, एकजनाको न्यूरो अस्पताल र एकजनाको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भयो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार वृद्धको मृत्यु बिहान ९ः४० बजेतिर भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार बिहान ९ः३० बजेतिर उनको मृत्यु भएको हो ।

कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको दाहालले बताए ।

विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

न्युरो अस्पतालमा ५३ वर्षीय पुरुषको बिहान ८ः५० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई होम आइसोलेसनमै राखिएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि न्युरोको कोभिड अस्पतालको आइसोलेसनमा कात्तिक १५ गते भर्ना गरिएको थियो ।

त्यस्तै, उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो ।

स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिए । उनका अनुसार पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको हो ।

मृतकमा मृगौलाको पुरानै समस्या थियो । दुवै मृगौलाको डाइलासिस गर्नका लागि नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएका उनको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष थापाले बताए ।