Rumpum Advertisement
Dazzu

श्वासबाट केही सेकेन्डभित्रै भाइरसको संक्रमण पत्ता लगाउने प्रविधिको विकास

श्वासबाट केही सेकेन्डभित्रै भाइरसको संक्रमण पत्ता लगाउने प्रविधिको विकास

विराटनगर, १७ कात्तिक । श्वासबाट केही सेकेन्डभित्रै कोरोना भाइरसको संक्रमण भएको हो वा होइन भनेर पत्ता लगाउन सक्ने प्रविधि विकास गरिएको छ ।

लान्सिट नामक जर्नलमा उल्लेख गरिएअनुसार वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य संक्रमणलाई कोभिडबाट लगभग तत्कालै छुट्याउन सक्ने देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका अनुसन्धानको नतिजापछि इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनी उक्त प्रविधि विकास गरेको हो ।

प्रविधिका लागि बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुने जनाइएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले तत्काल नतिजा आउने भएपछि उड्डयन क्षेत्र, यातायात क्षेत्र, अध्यागमनलगायत अस्पतालबाहिरको वातावरणमा प्रयोग गर्न सकिने बताएका छन् ।

शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु नपर्ने हुँदा परीक्षणका लागि तत्काल नमुना लिन सकिन्छ । नमुना संकलनका लागि विशेषज्ञ जनशक्तिसमेत नचाहिने र केही मिनेटभित्रै नतिजा पाउन सकिने डोमिनगुएज बताउँछन् । फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन तथा ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच तत्काल फरक छुट्याउने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो ।

तर, कोरोना भाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लिएको हो । दम वा ब्याक्टेरियाले गराउने निमोमियालगायत अन्य रोगसँग छुट्याएर कोभिड–१९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको बताइएको छ ।