Rumpum Advertisement
Dazzu

प्रवासी चराहरुले हाम्रो विश्वलाई जोड्दछन्

प्रवासी चराहरुले हाम्रो विश्वलाई जोड्दछन्
रामचन्द्र वाग्ले

आफू बसिरहेको स्थान बस्न र सन्तान हुर्काउनलायक नभएको अवस्था तथा मौसममा अन्यत्र जाने र पछि उपयुक्त वातावरण भएपछि फिर्ता आउने चरालाई प्रवासी चरा भनेर बुझिन्छ । यसलाई फिरन्ते, आगन्तुक र विदेशी चरा पनि भन्ने गरिन्छ । यसमा कमकुट, सिन्दुरे हाँस, मझौला सेतो बकुल्ला, सर्पहारी चिल, डुबुल्की चरा, कर्‍याङ्कुरुङ, राजहंस, युरोपियन रोल्लर, सारस, ग्रेट स्पोटेड उडपिकर, विशाल खैरो लाटोकोसेरो, साइबेरिएन बकुल्ला, अमुर बाज, हवाइट वागटेल, एशियाली कोइली, किंगफिसर, ब्लु टेल्ड बि इटर, स्पुन–बिल्ड स्यान्डपाइपर आदि पर्दछन् । प्रवासी चरामध्ये आर्कटिक टेर्नले सत्तरी हजार किलोमिटरभन्दा बढी यात्रा गर्छ । यो प्रत्येक वर्ष आइसल्यान्डदेखि अन्टार्कटिकासम्म र अन्टार्कटिकादेखि आइसल्यान्डसम्म ओहोरदोहोर गर्छ ।

ग्रेट स्नाइप चरा सबैभन्दा छिटो ओहोरदोहोर गर्ने प्रवासी चरा हो । यसले विश्राम नगरी करिब छ हजार सात सय ६० किलोमिटर दुरी पार गर्दछ । यो ९७ किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ । त्यस्तै हयुमिङ् बर्ड सबैभन्दा सानो प्रवासी अर्थात् फिरन्ते पक्षी हो । वर्ड लाइफ इन्टरनेशनलका अनुसार सानो रुफस हयुमिङ् बर्ड दक्षिण अमेरिकी महादेशको तल र माथि ओहोरदोहोर गर्छ भने आर्कटिक टेर्न एउटा धु्रवदेखि अर्को ध्रुवतिर ओहोरदोहोर गर्दछ । उक्त इन्टरनेशनलका अनुसार प्रत्येक पाँच चरामध्ये एक चरा प्रवासी चरा हुने गर्दछ ।

प्रवासी चराहरुले मानिसलाई, पारिस्थितिक प्रणालीलाई, राष्ट्रलाई र समग्रमा विश्वलाई नै जोड्दछन् । यिनीहरु शान्तिका प्रतीक हुन् । यिनीहरुको महाकाव्य यात्राले संसारभरिका सबै उमेरका मानिसलाई प्रेरित गर्दछ । यिनीहरुले हामीलाई महत्वपूर्ण सेवा प्रदान गर्छन् । जस्तै बिउ वितरण गर्ने, परागसेचन गर्ने, किरा नियन्त्रण गर्ने आदि । यिनीहरु पृथ्वीमा केवल दिगो जीवन धान्नका लागि मात्र महत्वपूर्ण नभएर पर्यटन, अनुसन्धान र शिक्षा, पक्षी निरीक्षण र फोटोग्राफीजस्ता मनोरञ्जनात्मक गतिविधिहरुको माध्यमबाट आर्थिक लाभ र रोजगारीहरु प्रदान गर्न पनि महत्वपूर्ण छन् । यति मात्र नभएर यिनिहरु हाम्रो संस्कृतिमा केन्द्रित पनि छन् ।

यसका साथै हाम्रो कला, संगीत, थिएटर र विश्वास प्रणालीमा प्राचिनकालदेखि नै प्रतिविम्बित छन् । चराहरुले हामीलाई प्रेरणा दिन्छन् र एक अर्कासँग सम्पर्कमा रहन र प्रकृतिसँग जोड्न मद्दत गर्छन् । चराहरुबाट नै मानिसलाई हवाइजहाज, हेलिकप्टर बनाउने प्रेरणा मिलेको हो । प्राचीनकालदेखि नै फिरन्ते चराहरुले मानिसलाई मद्दत गर्दै आएका हुन् । पहिले–पहिले यिनैको सहायताले सूचना आदानप्रदान गर्ने गरिन्थ्यो । चराहरु निकै रंगीबिरङ्गी र मनमोहक हुने भएकाले थुप्रै पर्यटकहरु यिनीहरुलाई हेर्न लालायित हुन्छन् । त्यसमा पनि फिरन्ते चराहरु केही समयका लागि मात्रै आउने भएकाले मानिसहरु यिनीहरुलाई हेर्न र आफ्नो क्यामेरामा कैद गर्न झनै इच्छुक हुन्छन् । यसले पर्यटन व्यवसायलाई निकै टेवा पुर्‍याउँछ ।

नेशनल जियोग्राफिकका अनुसार फिरन्ते चराहरुले सूर्य, चन्द्रमा, तारा, जमिनको चिन्ह (ल्यान्डमार्क) र पृथ्वीको चुम्बकीय क्षेत्र आदिको सहायताले घुमफिर गर्ने र पुराना उपयुक्त स्थानहरु पहिचान गर्ने गर्दछन् । ल्यान्डमार्क भन्नाले पहाड, नदी, समुद्र तट आदिलाई बुझिन्छ । कनेक्टिभिटी र कोरिडोर प्रवासी प्रजातिहरुका लागि निकै आवश्यक छ । यसले यिनिहरुलाई सजिलै बसाइँसराइ गर्ने अवसर प्रदान गर्दछ ।

प्रायः गरेर प्रवासी चराहरु चिसोबाट बच्न, प्रजनन गर्न र सन्तान हुर्काउनका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने गर्दछन् । यिनीहरुले बसाइँसराइ गर्दा लामो दुरी पार गर्नुपर्ने हुनाले थुप्रै चुनौतीको सामना गर्नुपर्दछ । अहिलेको यस्तो बढ्दो सहरीकरण, विकास कार्य आदिले गर्दा यिनीहरुको परम्परागत पथमा अवरोध पैदा भइरहेको छ । यसले गर्दा यिनीहरुलाई बाटो पहिचान गर्न, आहारा खोज्न, आराम गर्ने स्थान पत्ता लगाउन, प्रजनन गर्न, सन्तान हुर्काउन समस्या सिर्जना भइरहेको छ ।

युएनइपी २०१८ का अनुसार चालिस प्रतिशत फिरन्ते चराहरुको संख्या घटिरहेको छ र प्रत्येक आठमध्ये एक फिरन्ते चरा विश्वबाटै लोप हुँदै गइरहेको छ । उक्त वातावरण कार्यक्रमअनुसार प्रवासी पक्षीहरु लोप हुँदै जानुको प्रमुख कारणहरु आवासको क्षति र गिरावट, वायु टर्वाइन्स र बिजुली लाइनहरुसँगको टकराव, अवैधरुपमा मार्ने र समात्ने क्रियाकलाप आदि रहेका छन् । यसका साथै प्रवासी चराहरु विषाक्तता (निलेको लिड, माछा मार्न र माछा मार्ने तौलमा प्रयोग गरिने अत्यधिक विषाक्त भारी धातु) बाट धेरै प्रभावित छन् । त्यस्तै सटगन चलाउँदा निस्किने सयौं लिड (सिसा) का टुक्राहरु वातावरणमा फराकिलो मात्रामा फैलिनाले वन्यजन्तु (प्रवासी चरा) लाई ठूलो जोखिममा पारेको छ ।

मानिसले कृत्रिमरुपमा बनाएका विभिन्न संरचनाले तीन सय ५० भन्दा बढी प्रजातिका प्रवासी (फिरन्ते) चराहरुलाई खतरामा पारेको छ । त्यसमा पनि रातीमा सक्रिय हुने चराहरुलाई निकै ठूलो खतरा हुने देखिएको छ । त्यस्तै सिसा र अन्य परावर्तक वस्तुबाट बनेका संरचनाले गर्दा धेरै चराहरु मर्ने गरेको एक अध्ययनले देखाएको छ । उक्त कुरा विश्व प्रवासी पक्षी दिवसको वेबसाइटमा उल्लेख गरिएको छ ।

सन् २०२० सेप्टेम्बर १६ तारिखका दिन ‘बीबीसी’ ले प्रसारण र प्रकाशन गरेको समाचारअनुसार नयाँ मेक्सिकोमा करिब दश लाख फिरन्ते चराहरु वनडढेलोबाट निस्केको विषाक्त धुँवाको कारणले मरे । त्यस्तै बितेको ५० वर्षमा अमेरिका र क्यानडाले तीन अरब चराहरु गुमाएको समाचार सन् २०१९ सेप्टेम्बर १९ तारिखका दिन ‘बीबीसी’ ले सार्वजनिक गरेको थियो । नेपालमा पनि विशेषगरी जाडोबाट बच्न विभिन्न देशबाट नेपाल आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । यसै गरी विनाश हुँदै जाने हो भने केही वर्षमा फिरन्ते चराहरु हेर्नेे सौभाग्य गुम्नेछ ।

यिनीहरु एक देशबाट अर्को देश, एउटा भौगोलिक परिवेशदेखि अर्को भौगोलिक परिवेशमा जाने भएकाले कुनै एक स्थान वा देशमा मात्र यिनीहरुको संरक्षण गर्दैमा संख्या वृद्धि गर्न र संरक्षण गर्न सकिँदैन । यिनीहरुलाई जोगाउन तथा संरक्षण गर्न यिनीहरुले यात्रा गर्ने र बस्ने सम्पूर्ण पथ, देश तथा स्थानमा पनि यसको संरक्षण गर्नुपर्छ । यसका लागि स्थानीय र राष्ट्रिय तवरबाट संरक्षणका कार्यहरु गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय स्तरबाट पनि संरक्षणको प्रयास गर्नुपर्छ । यसका लागि सबै जनसमुदायमा यिनको महत्व र आवश्यकताबारे जनचेतना जगाउन अत्यन्त आवश्यक छ ।

हामीले आफ्नो व्यक्तिगत तर्फबाट चरा संरक्षणका लागि पिउने र नुहाउने पानीको व्यवस्था गर्न सक्छौ । सुरक्षित वासस्थान, चराचुरुङ्गीलाई हानी नगर्ने खानेकुराहरु प्रदान गर्न सक्छौं । यसका साथै अन्य व्यक्तिलाई फिरन्ते चराको महत्व र आवश्यकता बुझाउन सक्छौं ।

कन्भेन्सन अन द कन्जरभेसन अफ माइग्रेटरी स्पेसिस अफ वाइल्ड एनिमल्स (सिएमएस) र एग्रिमेन्ट अन द कन्जरभेसन अफ अफ्रिकन– युरेसयिन माइग्रेटरी वाटरबर्ड (एइडब्लुए) ले संयुक्तरुपमा प्रवासी चराहरुको संरक्षणका लागि वैदेशिक र क्षेत्रीय दुवैरुपमा पहल चाल्दै आएका छन् । सीएमएसले जलीय, स्थलीय र पक्षी प्रवासी प्रजातिलाई संरक्षण गर्ने उद्देश्य लिएको छ ।

(वाग्ले स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणीशास्त्र विभाग, एमएससीका शोधकर्ता हुन्)

तस्बिरहरू : नवीन गड्तौला