Rumpum Advertisement
Dazzu

नेकपा नेताको हत्यामा संलग्न पक्राउ

नेकपा नेताको हत्यामा संलग्न पक्राउ

विराटनगर, १७ कात्तिक । पर्सामा सत्तारुढ नेकपाका जिल्ला नेताको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या अभियोगमा पर्साको बिन्दवासिनी गाउँपालिका–४ का ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेर तिवारीलाई हिरासतमा राखिएको बताइन् ।

कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए ।उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।

चौरसियाको हत्यामा संलगन रहेको आरोपमा ८ दिनपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना विरुद्ध गत बिहीबार कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

१२ जना मध्ये हालसम्म प्रहरीले तिवारीसहित देवा सहनी, हनिफ मिया र सोकदिन गद्दी गरी चारजनालाई मात्रै पक्राउ गरेको छ । अरु ८ जना भने फरार छन् । सहनी, मिया र गद्दीलाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो ।