Rumpum Advertisement
Dazzu

विराटनगरमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

विराटनगरमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

विराटनगर, १७ कात्तिक । विराटनगरका दुईवटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ ।

एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जनाको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । झापा र मोरङका एक÷एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएका छन् ।

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचार सफल हुन सकेन ।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धको उपचार सम्भव नभएको दाहालको भनाइ छ ।