Rumpum Advertisement
Dazzu

डा. फाउचीको अन्तरवार्ताले तरंग

डा. फाउचीको अन्तरवार्ताले तरंग

विराटनगर, १७ कात्तिक । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा कोरोना भाइरस महामारीका बारेमा अमेरिकाका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीले दिएको अन्तरवार्ताले तरंग पैदा गरेको छ ।

उक्त अन्तरवार्ताले अमेरिकी राजनीतिलाई तरंगीत बनाएको हो । द वासिङ्गटन पोस्टसँगको अन्तरवार्तामा डा. फाउचीले अमेरिकालाई महामारीबाट ठूलो असर गरेको र चोट लागेको बताएका थिए । यसलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राजनीतिक चलखेल गरेको आरोप लगाएको छ ।

राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा अनआवश्यक अन्तरवार्ता दिएर राजनीतिक चलखेल गरेकोभन्दै ह्वाइट हाउसले डा. फाउचीको आलोचना गरेको छ ।

उनले अन्तरवार्तामा कोरोना भाइरसको महामारीलाई लिएर नोभेम्बर ३ मा हुने चुनावका लागि उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिद्वन्द्धी जो बाइडेनको रणनीतिको तुलना पनि गरेका थिए । उनले राष्ट्रपति ट्रम्पभन्दा स्पष्ट रुपमा पूर्व उपराष्ट्रपति जो बाइडेन महामारीलाई लिएर गम्भीर देखिएको र उनका चुनावी कार्यक्रमले पनि त्यसलाई संकेत गर्ने बताएका थिए ।

कोरोना भाइरसको महामारीबाट अमेरिका विश्वमै सबैभन्दा धेरै प्रभावित हुने देश हो । अहिले संक्रमण अति तीव्र गतिमा बढिरहेको छ । तर राष्ट्रपति ट्रम्पले भने संक्रमण अन्त्य हुने क्रममा रहेको बताउँदै आएका छन् ।

द वासिङ्गटन पोस्टले शनिबार प्रकाशित गरेको अन्तर्वार्तामा डा. फाउचीले जाडो याममा महामारीले थप भयावह रुप लिन सक्ने चेतावनी दिएका छन् । महामारी विरुद्धको प्रयास प्रभावकारी हुन नसक्दा अवस्था कमजोर बनेको उनले बताएका छन् ।

नागरिक स्वास्थ्यको दृष्टिबाट हेर्दा ट्रम्पले भन्दा बाइडेनले महामारीलाई गम्भीर रुपमा लिएको स्पष्ट रुपमा देखिएको डा. फाउचीले अन्तर्वार्ताको क्रममा बताएका छन् । ड.। फाउचीले राष्ट्रपति चुनावमा बाइडेनलाई सहज बनाउने प्रयास गरेको आरोप ह्वाइट हाउसले लगाएको छ ।