Rumpum Advertisement
Dazzu

कोलकतासँग हारेपछि राजस्थान आईपीएलबाट बाहिरियो

कोलकतासँग हारेपछि राजस्थान आईपीएलबाट बाहिरियो

विराटनगर, १७ कात्तिक । राजस्थान रोयल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ । आइतबार राति कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित हुँदै राजस्थान प्ले अफ होडबाट बाहिरिएको हो ।

दुबई रंगशालामा कोलकताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले ३५ रन बनाए भने राहुल टेबाटियाले ३१ रन जोडे । श्रेयस गोपालले २३ रन जोड्दा बेन स्टोकले १८ रन बनाए । कप्तान स्टिभ स्मिथ ४ रनमै आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।

कोलकताका लागि कप्तान इयोन मोर्गानले अजिवित ६८ रनको अर्धशतकीय इनिङ्स खेले । राहुल त्रिपाठीले ३९ बनाउँदा शुभमन गिलले ३६ रन जोडे ।

आन्द्रे रसेलले २५ रन बनाउँदा प्याट कुमिन्सले १५ रन जोडे । यस्तै नीतिश राना, सुनिल नारिने र दिनेश कार्तिक शून्य रनमै पेभिलियन फर्किए ।

राजस्थानका राहुल टेबाटियाले ३ विकेट लिँदा कार्तिक त्यागीले दुई तथा जोफ्रा आर्चर र श्रेयस गोपालले समान १–१ विकेट झारे ।

यससँगै कोलकताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । १४ खेलबाट १४ अंक जोड्दै कोलकता अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

राजस्थानले भने १४ खेलमा १२ अंक जोडेर सिजनको अन्त्य गरेको छ । पुछारमा रहेको ऊ आईपीएलबाट बाहिरिने तेस्रो टिम बनेको छ ।

यसअघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेको छ ।