Rumpum Advertisement
Dazzu

रोहिंग्या शरणार्थी : म्यानमारबाट लखेटिए, बंगलादेशबाट जोखिमयुक्त टापुमा सारिँदै

रोहिंग्या शरणार्थी : म्यानमारबाट लखेटिए, बंगलादेशबाट जोखिमयुक्त टापुमा सारिँदै

विराटनगर, १६ कात्तिक । क्रुर कारवाहीको कारण मातृभूमिमा हजारौं मानिसलाई मृत अवस्थामा छोडेका रोहिंग्या समुदायले देश छोड्न ठूलो जोखिमको सामना गर्नुपर्‍यो । म्यानमारबाट ज्यान जोगाएर बंगलादेश आइपुगेका उनीहरू कोक्स बजारमा रहेको बृहत शरणार्थी शिविरमा बस्छन् । शिविरमा हिंसा, लागूऔषध र मानवबेचविखनलगायत घटना बढ्दो अवस्थामा छ ।

पछिल्लो समय बंगलादेश सरकारले ती शरणार्थीहरूलाई भासनचार भन्ने टापुमा स्थानान्तरण गर्ने तयारी गरेको छ । पछिल्लो समय जोखिमयुक्त टापुमा सार्ने तयारी भएपछि शरणार्थीमा त्रास फैलिएको छ ।

५५ वर्षीय रासिदा खातुनले छ महिनादेखि आफ्नो सन्तानबाट शिविर सर्ने बारे सुन्दै आएकी छन् । खातुन र उनको परिवार कोक्स बजार बस्छन्, तर बंगलादेशमा कोरोना भाइरस पूर्ण रूपमा फैलिनुअघि रासिदाका दुई बच्चाहरू मलेसियाका लागि जोखिमपूर्ण यात्रामा निस्किए ।

सुखद भविष्यको आशामा उनकी १७ वर्षीया छोरी, २२ वर्षीय छोरा र अन्य दुई दर्जन रोहिंग्या शरणार्थीहरू एउटा सानो माछा मार्ने जहाजमा चढे र कोक्स बजारदेखि मलेसियासम्मको १० दिनको यात्रा गरेका थिए । तर मलेसिया प्रवेश गर्न पाएनन् । फर्कँदा शिविर आउन पनि पाएनन् । उनीहरूलाई नयाँ टापुमा लगेर राखियो ।

बाँस र प्लाष्टिकद्वारा निर्मित अस्थायी घरमा टाउको र कुम ढाक्नेगरी सेतो स्कार्फ लगाएर बसिरहेकी एक महिलाले बताइन् कि सैन्य कारवाहीको क्रममा उनको घर जलाइएपछि कसरी सन् २०१७ मा म्यानमारको मंगडाउ गाउँ छोडेर भाग्नु परेको थियो ।

तीन वर्षअघि सैन्य कारवाहीमा परी रोहिंग्या मुस्लिम बस्ती ध्वस्त पारिएको थियो । यूएन अनुसन्धानकर्ताको अनुसार दस हजारभन्दा बढी मानिस हमलामा मारिए । सात लाख ३० हजार भागेर बंगलादेश पुगे ।

केही वर्ष अस्थायी शिविरको बसाईमा आफ्नो पुर्ख्यौली घर फर्कने सम्भावना हराएपछि शिविरमा बढिरहेको हिंसा र अवसरको अभावको कारण रसिदा आफ्नो एक छोरा र छोरीका साथ म्यानमार फर्कने तयारीमा थिइन् । तर उनको गन्तब्य मोडियो । ‘गतबर्ष मेरो एक आफन्तले फोन गर्नुभयो । उहाँले भन्नुभयो कि मलेसियामा भएका पुरुषहरूले रोहिंग्या महिलाहरूलाई विवाह गर्ने चाहना राख्छन्,’ खातुनले भनिन्, ‘उनले विश्वस्त पारे कि मेरो छोरीले त्यहाँ विवाह गर्न सक्नेछन् र मेरो छोराले राम्रो काम पनि पाउन सक्नेछ ।’

बंगलादेशबाट मलेसियातर्फ यात्रा गर्नु रोहिंग्या युवाहरूको लागि एक सामान्य मार्ग भएको छ । तर यो बडो जोखिमपूर्ण यात्रा हो । सोही हप्ता खातुनका छोराछोरी पनि प्रस्थान गरे । दर्जनौं शरणार्थी बोकेको माछा मार्ने डुंगा बंगलादेशको समुद्री तटमा पल्टियो र १४ जना मानिसको मृत्यु भयो ।

समुद्रको यात्रापछि खातुनका छोराछोरीहरू मलेसियन तटमा देखा परे । सुरक्षाको निम्ति उनीहरूको नाम दिइएको थिएन तर मलेसियन प्रहरीले ट्र्याक गरिरहेका थिए । मलेसियन अधिकारीहरूले उनी सवार डुंगालाई तटमा रोक्ने अनुमति दिएन । सानु माछा मार्ने डुंगा एडमान्डा समुद्रमा नै फसिरहेको थियो । स्थानीय मिडिया र मानव अधिकारकर्मीको दवावपछि बंगलादेशको तटीय सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्न बाध्य भयो ।

यसपश्चात खातुनका बच्चाहरूसँगै सयौंको संख्यामा मलेसिया प्रवेश गर्न नपाएका शरणर्थीहरू कोक्स बजारमा भएको घरमा फर्कने अनुमति पाएनन् । तर उनीहरूलाई बंगालको खाडीमा भएको भासनचार भन्ने सानु टापुमा लगियो ।

पछि कोक्स बजारमा बस्ने खातुनलाई नचिन्ने नम्बरबाट फोन आयो । उनले भनिन्, ‘मेरो छोरी आवाज एकदम अत्तालिएको थियो । भासन चार नाम भएको स्थानमा लगिनेबारेमा बताउँदा मेरो छोरी रोइरहेकी थिई ।’

बंगलादेशको तटबाट ६० किलोमिटर (३७ माइल) टाढा रहेको भासन टापु २० वर्ष पहिले देखा परेको थियो । समुद्री सतहवाट २ मिटर (६ फिट) भन्दा कम उचाइमा अवस्थित टापु पानीले बगाएर ल्याएको माटोबाट बनेको छ ।

विगत तीन वर्षदेखि टापुमा ३५० मिलियन डलरको लागतमा नयाँ बस्तिहरू बनाउँदै आइरहेको छ । यसको मुख्य उद्देश्य १ लाख मानिसहरूलाई स्थानान्तरण गर्नु हो जसले शिविरभित्र देखिएको तनावलाई कम गराउने छ ।

बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले बारम्बार उनको सरकारको योजनाको बचाउ गर्दै अन्तर्राष्ट्रिय समुदायलाई यो कुरा बुझ्न आग्रह गरिन् कि कोक्स बजारमा लाखौं मनिसहरू बसोबास गरिरहेका छन् र बढ्दो हिंसा, दुर्व्यसन र मानव बेचविखन घटनाको वृद्धिले यो शिविर सुरक्षित छैन ।

‘यो संकट अहिले क्षेत्रीय समस्याको रूप लिएको छ । त्यसबाहेक बढ्दो जनसंख्याको चाप र वातावरण प्रदूषणको दृष्टिले पनि स्वास्थ्य र सुरक्षाको निम्ति चुनौती भएको छ,’ गत वर्षको यूएनको साधारणसभामा उनले भनिकी थिइन् ।

तर धेरै रोहिंग्याहरूका लागि भासन चार टापु शिविरभन्दा पनि बन्दीगृह जस्तै भएको छ । खातुनका दुई छोराछोरीसहित ३०६ जनालाई उनीहरूको इच्छाविपरीत टापुमा राखिएको छ र उनीहरूलाई यो टापु छोडने अनुमति छैन ।

रोहिंग्याहरूलाई उनीहरूको इच्छाविपरीत उक्त टापुमा पठाउने कदमविरुद्ध संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्ले दिएको दवावपछि हाल बसिरहेको शिविरको विकल्पमा बंगलादेशका अधिकारीहरूले सो टापुलाई एक आधुनिक शहरको रूपमा विकास गर्ने बताइरहेका छन् ।

टापुमा जानेहरू सबै जलसेनाको निगरानीमा हुनेछन् । नौसेना जहाजमा सवार तीन घण्टाको यात्रापछि कमोडोर अब्दुल्ला अल मम्मु चौधरी केही समयअघि टापु पुगेका थिए ।

उनका अनुसार टापुमा राता घरहरू छन् । अवलोकन गरिएका सबै खाली छन् । हरेक घरमा ओभरहेड राखिएको छ र सुरक्षाको निम्ति क्यामराहरू जोडिएका छन् । जहाँ निमार्णाधीन दुई वटा विद्यालय, मस्जिद, ४० शैय्याको अस्पताल र समुदायिक क्लिनिक पनि छ ।

‘निमार्णाधीन पूर्वाधारहरू वातावरणमैत्री छन्,’ चौधरीले भने, ‘खुला ठाउँहरू प्रशस्त छन् । कोक्स बजारमा नभएको विद्युत यहाँ व्यवस्था गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा हो । बालबालिकाहरूका लागि विद्यालय निमार्ण भएको छ ।’

यस बर्षको सुरुआतमा नै एमनेष्टि इन्टरनेशनलले पहिलेदेखि बस्दै आएका ३०६ जनाको अवस्थावारे रिर्पोट सार्वजनिक गरेको थियो । उक्त रिर्पोटमा उनीहरूमाथिको प्रतिबन्ध र स्वास्थ्य अवस्था, सीमित खाद्यान्न आपूर्ति र स्वास्थ्य सुविधाहरू, उनीहरूका परिवारलाई सञ्चार गर्नको लागि उपलब्ध फोन सेवा र नौसेनाद्वारा हुने यौन शोषण आरोपको बारेमा प्रकाशन गरिएको थियो । –बीबीसीबाट