Rumpum Advertisement
Dazzu

आईपीएल : राजस्थान र कोलकता दुवैको लक्ष्य प्लेअफ

आईपीएल : राजस्थान र कोलकता दुवैको लक्ष्य प्लेअफ

विराटनगर, १६ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अंकतालिकाको छैटौं स्थानको राजस्थान रोयल्स र सातौं स्थानको कोलकता नाइट राइडर्स आज बेलु्की ७ः४५ बजे दुबई रंगशालामा एकअर्काविरुद्ध भिड्दैछन् ।

निकै दबाबकाबीच दुवै टोलीले खेल्न लागेको आजको खेल प्रतिस्पर्धात्मक हुने निश्चित छ । २०२० आईपीएलको प्लेअफसम्म पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।

मुम्बई इन्डियन्स क्वालिफायरमा पुगिसके पनि प्रतियोगितामा सहभागी अन्य ६ टोलीमध्ये को–को प्लेअफसम्म पुग्ने हो टुंगो नलागिसकेकाले दुवै टोलीका लागि प्रतियोगिताको आ–आफ्नो अन्तिम खेलमा जित अनिवार्य छ ।

पुछारमा रहँदै चेन्नई यसअघि नै प्रतियोगिताको प्लेअफ पुग्नबाट रोकिएको भए पनि अन्य टोलीको सम्भावना अझै जिवितै रहेकाले राजस्थान र कोलकता दुवै आफूलाई अघि बढाउन चाहन्छ ।

चौथो स्थानको हैदराबाद, पाँचौ स्थानको पञ्जाब, छैटौं स्थानको राजस्थान र सातौं स्थानको कोलकताको १३ खेलबाट समान १२ अंक रहेकाले पनि आजको खेल निकै प्रतिस्पर्धात्मक हुने हामी सहजै अनुमान लगाउन सक्छौं ।

दोस्रो स्थानको बैंग्लोर र तेस्रो स्थानको दिल्ली आ–आफ्नो अन्तिम खेलमा एकअर्काविरुद्ध मैदान उत्रने भएकाले पनि आजको खेलमा जित निकाल्ने टोलीलाई प्लेअफमा स्थान बनाउने मौका रहन सक्छ ।

आजको खेलमा विशाल अन्तरको जित दर्ता गर्दै नेट रन रेटमा राम्रो सुधार गर्ने हो भने दुईमध्ये एक टोलीको २०२० आईपीएलमा यात्रा केही लम्बिन सक्नेछ । तर त्यसका लागि पञ्जाब र हैदराबादको खेलको नतिजा आज भिड्दै गरेका दुईमध्ये खेल जित्ने टोलीको पक्षमा पर्न जरुरी रहन्छ ।

यी दुईले आईपीएल ईतिहासमा हालसम्म २२ पटक एकअर्काविरुद्ध खेलिसकेका छन् । खेलिएका २२ मध्ये ११ खेलमा कोलकताले बाजी मारेको छ भने राजस्थान १० खेलमा मात्रै भाग्यमानी साबित भएको छ ।

यी दुईबीच २०१५ मा हुने भनिएको एक खेल वर्षाका कारण रद्द भएको थियो । यसअघिका दुई संस्करणका पछिल्ला पाँच खेलको नतिजा हेर्ने हो भने राजस्थानविरुद्ध कोलकता हावी भएको देखिन्छ । पछिल्ला पाँचमध्ये चार खेलमा जित निकालेको कोलकता पछिल्लो पटक २०१९ आईपीएलको दोस्रो खेलमा राजस्थानसँग तीन विकेटले हारेको थियो ।

राजस्थानविरुद्ध आफू सफल छु भन्ने प्रमाण कोलकताले यसै सिजनको पहिलो भेटमा राजस्थानलाई ३७ रनले पराजित गरेर देखाइसकेको छ । दुबई रंगशालामा नै दोस्रो पटक आमनेसामने हुन लागेका यी दुईमध्ये राजस्थान पहिलो भेटको हारको बदला लिँदै हेड–टु–हेडमा बराबरी गर्न चाहन्छ ।

यता कोलकता भने आफ्नो अग्रता बढाउँदै अंकतालिकामा आफूलाई कम्तिमा पनि चौथो स्थानमा उक्लाउन चाहन्छ ।

२०२० आईपीएलको १२औं खेलमा यी दुईले दुबई रंगशालामा नै एकअर्काविरुद्ध पहिलो पटक खेलेका थिए । टस जितेको राजस्थानले पहिले फिल्डिङ रोजेपछि कोलकताले एक सय ७५ रनको लक्ष्य राजस्थानसामु पेश गरेको थियो ।

कोलकताका लागि शुभमन गिलले ४७, सुनिल नारायणले १५, नितेश रानाले २२, आन्द्रे रसेलले २४, दिनेश कात्र्तिकले एक, कप्तान मोर्गनले ३४, प्याट कुमिन्सले १२ र कमलेश नगरकोटीले आठ रनको योगदान दिएका थिए ।

कोलकतालाई मध्य योगफलमा रोक्न राजस्थानका लागि जोफ्रा आर्चरले दुई र अंकित राजपूत, जयदेव उनाडकट, टम कुरान, राहुल टेवाटीयाले समान एक–एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको राजस्थानले २० ओभर पूरै खेले पनि लक्ष्य भने भेट्टाउन सकेन । उसका लागि जोस बटलरले २१, राहुल टेवाटियाले १४ र टम कुरानले ५४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन नसकेपछि कोलकतालाई दुई अंक सुम्पिन राजस्थान बाध्य बनेको थियो ।

राजस्थानका लागि कप्तान स्मिथ तीन, सामसन आठ, उथप्पा दुई, पराग एक, गोपाल पाँच, आर्चर ६, उनाडकट नौ र राजपूत सात रनमै पेभिलियन फर्किएका थिए ।

राजस्थानको ब्याटिङलाई ध्वस्त बनाउन कोलकताका लािग शिवम मावी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान दुई र कुलदीप यादव, सुनिल नारायण र प्याट कुमिन्सले समान एक–एक विकेटको योगदान दिन भ्याए ।

कप्तानी इयोन मोगर्नले सम्हालेपछि सुधारिएको प्रदर्शन गरिरहेको कोलकताका लागि कप्तान मोर्गन तीन सय ५०, नितेश राना तीन सय ५२, शुभमन गिल चार सय चार, दिनेश कात्र्तिक एक सय ६९, प्याट कुमिन्स एक सय ३१, राहुल त्रिपाठी एक सय ९१ र सुनिल नारायण एक सय २१ रन बनाएर आईपीएल खेलिरहेका छन् ।

यीबाहेक बलरहरूले पनि पछिल्ला खेलहरूमा कोलकतालाई गतिलो साथ दिइरहेका छन् । निकै फर्ममा देखिएका लक्की फर्ग्युसनले पाँच खेल खेल्दै ६ विकेट, अलराउण्डर रसेलले नौ खेल खेल्दै ६ विकेट, कमलेश नगरकोटीले नौ खेलमा चार विकेट, प्रसिद्ध किशनले ६ खेलमा चार विकेट, शिवम मावीले सात खेलमा सात विकेट र सुनिल नारायणले नौ खेलमा पाँच विकेट लिएर योगदान दिइसकेका छन् ।

कोलकताका लागि यो सिजन १२ खेल खेलेका वरुण चक्रवर्ती भने १५ विकेट लिएर जारी आईपीएलमा सबैभन्दा बढी विकेट लिने कोलकताका बलर बनेर आईपीएल खेलिरहेका छन् ।
यता स्मिथले सम्हालिरहेको राजस्थानमा पनि कुशल खेलाडीको भने कुनै कमी छैन । सात खेलमा दुई विकेटसहित बेन स्टोक्स दुई सय ६७ रन बनाएर आईपीएल खेलिरहेका छन् भने कप्तान स्मिथले १३ खेलमा तीन सय सात रन बनाइसकेका छन् ।

यस्तै, सामसन तीन सय ७४, राहुल टेवाटिया दुई सय २४, जोफ्रा आर्चर एक सय सात, जोस बटलर दुई सय ९३ र रोबिन उथप्पा एक सय ९० रन बनाएर खेलिरहेका छन् । राजस्थानका यी ब्याट्सम्यानहरूलाई १९ विकेट लिएर तीव्र गतिका बलर जोफ्रा आर्चरले गतिलो साथ दिइरहेका छन् ।

आर्चरबाहेक राजस्थानका लागि कात्र्तिक त्यागीले सात, अंकित राजपूतले दुई, श्रेयस गोपालले नौ, राहुल टेवाटीयाले सात, जयदेव उनाडकटले चार र टम कुरानले तीन विकेट लिएर योगदान दिई सकेका छन् ।

उत्कृष्ट खेलाडीहरुले भरिपूर्ण यी दुई टोलीबीच हुने खेलमा कसले बाजी मार्ने हो त्यसको लागि हामीले दुबई रंगशालमा हुने खेलको नतिजा कुर्नेपर्ने हुन्छ ।