Rumpum Advertisement
Dazzu

मेस्सीलाई कारवाही हुनसक्ने !

मेस्सीलाई कारवाही हुनसक्ने !

विराटनगर, १६ कात्तिक । बार्सिलोनाका कप्तान लियोनल मेस्सीमाथि अनुशासनको कारवाही हुनसक्ने देखिएको छ ।

ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रेफ्री एलेक्जान्द्रो हर्नान्डेज हर्नान्डेजलाई ताकेर बल प्रहार गरेपछि ला लिगाले उनीमाथि अनुशासनको कारवाही गर्ने सम्भावना देखिएको हो ।

गए राति बार्सिलोना अल्भेससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अल्भेसको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो ।

खेलको ३१औं मिनेटमा लुइस रोजाले गोल गर्दै अल्भेसलाई पहिलो हाफभरि अग्रता दिलाए । ०–१ गोलले पछि परेको अवस्थामा कप्तान मेस्सी निराश र हतास देखिएका थिए ।

खेलको ३९औं मिनेटमा अल्भेसका खेलाडीले बार्सिलोनाका मिडफिल्डर फ्रन्की डी योङमाथि फउल गरेपछि रेफ्रीले केही एक्सन नलिएपछि मेस्सीले आक्रोशित हुँदै हर्नान्डेजलाई ताकेर बल प्रहार गरेका थिए ।

यद्यपि, रेफ्रीले मेस्सीको प्रहार छले । त्यसलगत्तै रेफ्रीले मेस्सीलाई पहेँलो कार्ड मात्रै देखाएका थिए ।

सो बेला पहेँलो कार्ड पाए पनि रेफ्रीले ला लिगालाई खेल रिपोर्ट बुझाउँदा मेस्सीले अनुशासनविपरीत कार्य गरेकोले कारवाहीका लागि सिफारिस गरेको स्पेनिस मिडिया मार्काले जनाएको छ ।

सो खेलमा एन्टोइन ग्रिजम्यानले बार्सिलोनालाइ हारबाट जाेगाएका थिए । ६३औं मिनेटमा गोल गर्दै उनले खेल बराबरीमा ल्याएका थिए ।

बार्सिलोना हाल ला लिगाको अंक तालिकामा माथि उक्लन संघर्षत रहेको छ । रोनाल्ड कोइम्यान नेतृत्त्वको बार्सिलोना हाल १२औं स्थानमा छ । उसले ६ खेलबाट मात्र ८ अंक जोडेको छ ।

पछिल्लो १८ वर्षयता ला लिगामा बार्सिलोनाले पुनः खराब सुरुआत गरेको हो । २००२–३ को सिजनमा अर्का डच प्रशिक्षक लुइस भान गालको नेतृत्त्वमा यस्तै प्रदर्शन गरेको थियो ।