Rumpum Advertisement
Dazzu

काेराेना संक्रमितको शव बोक्ने गाडी दुर्घटना

काेराेना संक्रमितको शव बोक्ने गाडी दुर्घटना

विराटनगर, १६ कात्तिक । कोरोना संक्रमितको शव बोक्ने गाडी दुर्घटनामा परेको छ । मोरङमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव बोक्न प्रयोग गरिँदै आएको को१च ४०७१ नम्बरको शवबाहन दुर्घटनामा परेको हो ।

विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएका संक्रमितको शवलाई व्यवस्थापनका लागि उर्लाबारी पुर्‍याएर फर्कदै गरेको शवबाहन यात्रुबाहक बसमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीले बताए ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ मा शनिबार साँझ एकै पटक तीनवटा गाडी दुर्घटनामा परेका थिए ।

झापाको काँकडभिट्टाबाट यात्रु बोकेर सुनसरीको इटहरीतर्फ आउँदै गरेको को१ख ७८४७ नम्बरको यात्रुबाहक बसमा सुरुमा शवबाहन ठोक्किएको थियो । सडकमा गुडिरहेको बस अचानक रोकिएपछि शवबाहन ठोक्किन पुगेको डीएसपी गिरीले बताए ।

त्यसपछि संक्रमितको शव व्यवस्थापनमा खटिने नेपाली सेनाको टोली चढेको अर्को गाडी शवबाहनमा ठोक्किएको हो । बसमा ठोक्किएको शवबाहनको पछाडि शव व्यवस्थापनमा खटिएको सेनाको टोली चढेको को१झ ६७४ नम्बरको गाडी ठोक्किएको थियो । उक्त गाडी संक्रमितको शव व्यवस्थापनमा प्रयोग गर्ने गरी प्रदेश १ को सामाजिक विकास मन्त्रालयले नेपाली सेनालाई उपलब्ध गराएको हो ।

मन्त्रालयले सेनालाई शव व्यवस्थापनका लागि गाडी र चालक उपलब्ध गराएको छ । दुर्घटनामा परेर सेनाले प्रयोग गर्ने गाडी र शवबाहनको अगाडिको भागमा क्षति पुगेको छ । बसको पछाडिको भागमा क्षति पुगेको डीएसपी गिरीले बताए । उनका अनुसार तीनवटै गाडीमा निक्कै क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएन ।

संक्रमितको शव व्यवस्थापनका लागि टोली परिचालन गर्दै आएको मोरङस्थित नेपाली सेनाको सूर्य दल गण थलाहाका गणपति प्रमुख सेनानी महेश बाटाले दुर्घटनामा परेर क्षति पुगेका शवबाहनसहित दुवै गाडी मर्मत सम्भारका लागि लगिएको जानकारी दिए ।

‘दुर्घटनामा परेर चलाउनै नमिल्ने गरी दुवै गाडीमा क्षति पुगेको छ,’ उनले भने, ‘मर्मतपछि मात्रै सञ्चालन गर्न सक्ने अवस्था छ ।’

बाटाले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय एवम् जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अर्को गाडी खोजेर संक्रमितको शव व्यवस्थापन गर्न थालिएको बताए ।