Rumpum Advertisement

शहरमा अनलाइन शिक्षा, गाउँमा फुर्सदिला बालबालिका

शहरमा अनलाइन शिक्षा, गाउँमा फुर्सदिला बालबालिका

विराटनगर, १५ कात्तिक । सरकारले ठूलो लगानी गर्दा पनि सुधार हुन नसकेको ग्रामीण क्षेत्रको शिक्षा अहिलेको महामारीको कारण झनै थला परेको छ ।

नियमित पठनपाठन र शिक्षण सिकाइ नभइरहेका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा अहिले झनै डामाडोल अवस्था बनेको हो । अहिलेको अवस्थामा सरकारले विद्यार्थी सिकाइ निर्देशिका जारी गरेको छ ।

सरकारले निर्देशिकामा शिक्षण सिकाइका पाँच तरिका गर्न सकिने उल्लेख गरेको छ । निर्देशिकाले अनलाइन पहुँच भएका, रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, गाउँटोलमै गएर पठनपाठन गराउने भनेको छ । ग्रामीण क्षेत्रमा यो कुनै पनि विधिलाई अवलम्बन गरेर पठनपाठन गरेको पाइँदैन ।

ग्रामीण क्षेत्रका बालबालिकाहरु अहिले पूर्णरुपमा खेलेर र अविभावकलाई काममा सघाएर बिताउने गरेका छन् । ग्रामीण क्षेत्रमा विद्यालय नलाग्ने र बालबालिकाले पठनपाठन गर्नु नपर्ने भएपछि अविभावकले पनि काममै लगाउने गरेको पाइन्छ । भविष्य शिक्षा महत्वपूर्ण कडी भए पनि बालबालिकाले अहिले खेलेर नै समय कटाइरहेका छन् ।

ज्ञानको अभावमा अविभावकले पनि बालबालिकालाई सीपमूलक र जीवन उपयोगी शिक्षा दिन असम्भव हुन्छ ।

गुरुविना अविभावकको करकापमा बालबालिकाले घरमा पढे पनि त्यो फलदायी नहुन सक्छ । रंगेली–३ का मोहमद मिराज कक्षा ८ मा पढ्छन् । आफैं घरमा पढ्ने बताएका उनले फुर्सदको समयमा भने काम गर्ने नभएर खेल्ने गरेको बताए । ग्रामीण क्षेत्रका बालबालिकाहरु अहिले अधिकांश समय खेलेर या घरको काम गरेर बित्ने गरेको छ । विद्यालयबाट कुनै पनि पाठ्यसामग्री नपाएको उनले बताए । उनले अनलाइन र टेलिभिजनको पहुँच नभएको बताए ।

गुच्चा खेलिरहेका धनपालथाका सविन ऋषिदेवले विद्यालय नलागेकाले खेलेर समय बिताउने गरेको बताए । घरमा पनि पढ्ने नगरेको उनले बताए । उनी कक्षा पाँचमा पढ्छन् ।

रंगेलीका मोहमद इस्लामले पनि विद्यालयले पठनपाठनमा चासो नलिएको बताए । गाउँटोलमै पढाउने गरिएको उनले बताए । बालबालिकाहर खेलकुदमा बढी व्यस्त रहने गरेको उनले बताए ।

ग्रामीण क्षेत्रमा अविभावकहरु खेतिपातिमा व्यस्त रहने भएकाले बालबालिकाको पठनपाठन समय दिन कमै भ्याउँछन् । धनपालथानका मातृकाप्रसाद राजवंशीले पनि बालबालिका खेलकुदमै व्यस्त हुने गरेको बताए ।

ग्रामीण क्षेत्रका बालबालिकाहरु अनलाइनको पहुँचभन्दा बाहिर छन् । ग्रामीण क्षेत्रमा पनि रेडियोको प्रयोग हराउँदै गएको छ । टेलिभिजनको पहुँच भए पनि धेरैले भारतीय च्यानल मात्र आउने डिस जोड्ने गरेका छन् । नेपाली आए पनि बालबालिकाले त्यसमा खासै चासो पनि लिने गरेको पाइँदैन ।

बालबालिकाहरुको पहुँचको अवस्थाको बारेमा भर्खर तथ्याङ्क संकलनको काम सकिएको धनपालथानको कदमाहमा रहको सर्वोदय माविका प्रधानाध्यापकले चद्रिकाप्रसाद यादवले बताए । सरकारले बनाएको निर्देशिकाअनुसार बालविकासदेखि तीनसम्म अविभावकलाई नै पठनपाठनको जिम्मा लगाएको उनले बताए । त्यसैगरी माथिल्ला कक्षाको पठनपाठनको तयारी गरिरहेको उनले बताए । यो सात महिनाको अवधिमा विद्यालयले विद्यार्थीको आवस्था बुझ्ने काममात्र गरेको पाइन्छ ।

ग्रामीण क्षेत्रको बस्तुस्थिति र समुदायको आधारमा शिक्षण सिकाइ फरक–फरक रहेको र अहिले महामारीको अवस्थामा पनि कायम रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख दीर्घध्वज चापागाईले बताए । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरु महामारीको डर कायमै रहेको भन्दै पन्छने गरेको उनले बताए ।